बुधबार, फागुन ७, २०७६

सगरमाथाबाट झिकिँदै आरोहीका सय वर्ष पुराना शव

सगरमाथा क्षेत्रमा भेटिएको आरोहीको शव। | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, जेठ ७ : सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोही र गाइडका झण्डै सय वर्ष अघिका शव निकाल्न थालिएको छ। सगरमाथा सरसफाइ अभियानमार्फत पर्यटन विभागले शव निकाल्न सुरू गरेको हो।

सगरमाथा क्षेत्रमा करिब दुई सय शव रहेको अनुमान छ। सन् १९२१ देखिका शव निकाल्न बाँकी रहेको विभागले जनाएको छ।

हिमालयन डाटाबेसका अनुसार, सन् १९२१ देखि २०१७ सम्म सगरमाथा आरोहणका क्रममा दुई सय ९६ जनाको मृत्यु भएको छ। तिमध्ये एक तिहाइको मात्रै शव निकालिएको छ।

सगरमाथाको आठ हजार तीन सय मिटरमूनि र आठ हजार चार सय मिटरभन्दा माथि शव अलपत्र रहेको आरोही बताउँछन्। सगरमाथामा रहेका शवमध्ये ६३ प्रतिशत शव नेपालतिर छन् भने ३७ प्रतिशत शव तिब्बती मोहडामा रहेको विभागले जनाएको छ।

सन् २००० देखि २०१७ सम्म प्रत्येक वर्ष औषत ६ जना आरोहीको मृत्यु भएको तथ्यांक छ। हिमपहिरो जाँदा सन् २०१४ मा १५ र सन् २०१५ मा १४ जना शेर्पाको मृत्यु भएको थियो।

सन् २०१८ मा पाँच जनाको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हिमालयन डाटाबेसले उल्लेख गरेको छ।  मृत्युदरसँगै हिमाल आरोहणमा जाँदा बाटैभरि शव देखिने गरेको आरोही बताउँछ ।

आरोहणका क्रममा लेक लागेर (हाइअल्टिच्युट सिकनेस), अक्सिजन सकिएर, बाटो बिर्सेर, हिम पहिरोमा परेर र खर्भास (हिम खोंच)मा खसेर, चिप्लिएर, अकस्मात मुटुले काम नगरेर, हिउँको चिसोले कठांग्रिएर (हाइपोथर्मिया) र हराएर आरोहीको मृत्यु हुने गरेको छ।

त्यस्तै, सगरमाथामा मृत्यु भएका दुई सय आठ जनामध्ये एक सय ६८ को अक्सिजनको प्रयोग नगरेको कारण भएको देखिएको छ। यीमध्ये एक सय २० जनाको आरोहणको रुट बनाउँदा बनाउँदै मृत्यु भएको हिमालन डाटाबेसले उल्लेख गरेको छ।

त्यस्तै, अहिलेसम्म एक सय ५१ जनाले अक्सिजनबिना सगरमाथाको आरोहण प्रयास गरिसकेका छन्। जसमध्ये ११ जनाको मात्र मृत्यु भएको छ।

यसरी विभिन्न समयमा सगरमाथा क्षेत्रमा रहेका शव ल्याउन स्थानीय तह र निजी क्षेत्रसँग मिलेर पर्यटन विभागले अभियान सुरु गरेको छ। वैशाख १ गते लुक्लाबाट सुरू भएको सरसफाइ अभियान सगरमाथा आधारशिविर हुँदै सगरमाथाको शिखरसम्म पुगेको थियो। यो क्रममा बाटोमा भेटिएका शव संकलन गरेर व्यवस्थापन गर्न थालिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

सगरमाथामा हराएको शव ल्याउन समय र खर्च धेरै लाग्ने भएकाले गाह्रो भएको विभागको भनाइ छ। एउटा शव झिक्न ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च लाग्ने पर्यटन विभागका महानिर्देशक घिमिरेले बताए। ‘खर्च अभावका कारणले र मौसमले पनि साथ नदिँदा शव ल्याउन कठिन हुने गरेको छ,’ उनले भने।

पर्यटन विभागका अनुसार सन् १९५३ मा सगरमाथाको सफल आरोहणपछिका ६६ वर्षमा चार हजार आठ सय जनाले सफल आरोहण गरेका छन्। यो अवधिमा सगरमाथामा अहिलेसम्म कति जनाले ज्यान गुमाए भन्ने एकीन तथ्यांक पर्यटन विभागसँग छैन।

सगरमाथामा विशेष रुपमा शवको खोजी गर्ने र भेटेजति सबै ल्याएर व्यवस्थापन गर्ने पर्यटन बिभागका महानिर्देशक घिमिरे बताए। यसका लागि दक्ष आरोहीहरुलाई खटाइएको उनको भनाइ छ।

सगरमाथाबाट संकलन गरेर ल्याएका शवको पोष्टमार्टम तथा डीएनए परीक्षण गरिने जनाएको छ। शव पहिचान भएपछि आफन्तले जिम्मा लिए हस्तान्तरण गर्ने र जिम्मा नलिए वा पहिचान हुन नसकेमा मुचुल्का बनाएर कानुनी प्रक्रिया पूरा गरी दाहसंस्कार गर्ने पर्यटन विभागका महानिर्देशक घिमिरेले बताए।

सगरमाथाको अप्ठ्यारा भिर, खोंच र गुफामा फसेका शव ल्याउन कठिन भएकाले सन् १९२२ देखिकै शव हिमालमा अलपत्र छन्। अहिले उत्तरी मोहडा अर्थात तिब्बततर्फ रहेका शव झिक्न थालिएको छ।

 

 Published Date: Wednesday, 22nd May 14:37:43 PM