बुधबार, मंसिर २५, २०७६

छानविन समितिको निष्कर्ष- सगरमाथा आरोहणमा जाम होइन, लाम लागेको हो

सगरमाथामा आरोणको प्रयासमा मे २४ मा विभिन्न देशका आरोही। | तस्वीर:प्रोजेक्ट पोसिबल

काठमाडौं, साउन २९ : सगरमाथा आरोहणमा जाम नभएर लाम लागेको सरकारी छानविन समितिले निष्कर्ष निकालेको छ।

आरोहणको क्रममा भिड लागेरभन्दा पनि मौसम र बिरामी परेर केही आरोहीको मृत्यु भएको पनि समितिको निष्कर्ष छ। मे २२ र २३ मा मौसम सुधार भएपछि धेरै आरोही सगरमाथाको चुचुरोमा जान चाहेकाले समय कुरेर लामा देखिएको समितिले जनाएको छ।

बुधबार छानविन समितिका संयोजक तथा सहसचिव घनश्याम उपाध्यायसहितको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा व्यवस्थित रूपमै आरोहण सम्पन्न भएको उल्लेख छ। 

विश्वभर आरोहण अनुमति धेरै दिएकोले जाम भएको तथता आरोहीको मृत्यु भएको भन्दै आलोचना र समाचार प्रकाशित भएका थिए। तर, त्यसमा सत्यता नभएको छानविन समितिका संयोजक उपाध्यायले बताए। सगरमाथामा मानव चाप र फोटोसहित समाचार आएका थिए। जसले संसारभर आलोचन भएको थियो। त्यसपछि सरकारले सुझाव र छानविन गर्न समिति गठन गरेको थियो।

यो सिजनमा देशका विभिन्न हिमालमा नौ सय ६१ जनाले आरोहण गरेका थिए। जसमा १५ जनाको मृत्यु भएको थियो। सगरमाथामा तीन सय ६४ जनाले आरोण गरेका थिए भने आठ जनाको मृत्यु भएको थियो। सगरमाथा आरोहणका क्रममा वेपत्ता भएका आयरल्यान्डका एक आरोही अझै फेला परेका छैनन्।

प्रधानमन्त्री केपि शर्मा ओली बेलायत भ्रमणमा रहेका बेला बीबीसीले क्षमताभन्दा बढी आरोहण अनुमति दिएको भन्दै प्रश्न सोधेपछि झन विवाद बढेको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले छानविन समिति गठन गर्न निर्देशन दिएका थिए। जेठ २४ गते संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको थियो।

समितिले दीर्घकालमा पर्वतीय पर्यटनमा गर्नुपर्ने कामको विषयमा १२ पृष्ठ लामो सुझाव दिएको छ। समितिले सम्पर्क अधिकृतको विषयमा पनि टिमनै गएर बेसक्याम्पमा जानु पर्ने समेत सुझाव दिएको छ। सुझाव कार्यान्वयनमा आएको आगामी सिजनदेखि उपससचिवको नेतृत्वमा आधारशिविरमा सेना र प्रहरीसहितको टोली उद्दारका लागि खटिनेछ। जुन आरोहण अवधिभर बस्नेछ।

गत सिजनमा ७५ जना सम्पर्क अधिकृत खटिएका थिए। जसमा २२ जना मात्रै आधार शिविरमा पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ।

 Published Date: Wednesday, 14th August 14:49:52 PM