सोमबार, मंसिर ३०, २०७६

बंगलादेशका राष्ट्रपति हमिद आज आउँदै, भक्तपुर, चन्द्रागिरी र पाेखरा घुम्ने

काठमाडौं, कात्तिक २६ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणमा आज काठमाडौं पुग्दैछन्।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन्। बङ्गलादेशका राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मध्याह्न १२ः४५ बजे विशेष उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले समकक्षी राष्ट्रपति हमिद र उनको प्रतिनिधिमण्डलको सम्मानमा बुधबार साँझ राजकीय भोज आयोजना गर्ने कार्यक्रम रहेको छ।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

चार दिने नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखरा, काठमाडौंको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। 

 Published Date: Tuesday, 12th November 12:04:09 PM