मंगलबार, चैत्र १८, २०७६

प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ? : रिजाल

काठमाडौं, फाुगन १३ : कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण र प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसरमा गरिएको तडकभडको चर्को विरोध गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले सेक्युरिटी प्रेस खरिदमा ७० करोड घुस प्रकरण बाहिर आएको, तर सरकारले त्योभन्दा बढी खानेगरी खरिद प्रक्रिया अघि बढाएको आरोप लगाए। ‘लेखा समितिले सेक्युरिटी प्रेस खरिद रोक्न निर्देशन दिएको छ। अचम्म यस विषयमा अचम्म लागेको छ।

लाजामर्दो अवस्था छ। ७० करोड घुसको डिल गर्नेले नै सरकारले अर्बौ खान तयार भएको बताएको छ,’ उनले भने, ‘प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्नुहुन्थयो। तर, यही हो उहाँको प्रतिबद्धता?’

उनले बालुवाटार जग्गा प्रकरणमा समेत अख्तियारलाई प्रभावमा राखेको जिकिर गर्दैै विपक्षी र आफ्नै पार्टीको अर्को गुटलाई कारबाही गर्ने, तर आफ्नै गुटकालाई जोगाउन सरकार लागेको आरोप लगाए। न्यारोबडी जहाज खरिद प्रक्रियामा सम्बन्धित कम्पनीले सरकारी संयन्त्रलाई घुस दिएको बताइरहँदा सरकारले छानविन समिति समेत बनाउन नसकेको उनको भनाइ छ। ‘न्यारोबडीमा छानविन समिति नै बनेन, लेखा समितिले वाइडबडी प्रकरणमा छानविन गर्न अख्तियारलाई भने पछि अहिलेसम्म केही भएको छैन,’ रिजालले भने।

उनले स्याटेलाइट, अप्टिलक फाइबर, फोरजीलगायतका विषयमा अनियमितता भएपनि प्रधानमन्त्रीले त्यसमा संलग्न गोकुल बास्कोटाको प्रशंसा गरेको स्मरण गराए।

त्यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा तमसा देखाएको आरोप लगाए। ‘प्रधानमन्त्रीको जन्मदिनको तामझाम हेर्दा उनकै घरले नयाँ महाराजाको सवारी भएछ भनेर झुक्किएको भन्दै व्यंग्य गरे। ‘स्याटेलाइट, अप्टिलक फाइबर, फोरजी लगायतका विषयमा अनियमितता भएको छ। तर, प्रधानमन्त्रीले तुलामा राख्दा एकातिर र सञ्चारमन्त्री अर्कोतिर भन्दै बास्कोटाको प्रसंशा गर्नुभयो। प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ?,’ उनले भने।

हिजो मदन भण्डारीले राजालाई राजनीति गर्ने भए श्रीपेच फुकालेर आउन चुनौति दिएको स्मरण गर्दै रिजालले अहिले कम्युनिस्ट पार्टीमा श्री ढेड, श्री अढाइ, श्री सातको उदय भएको बताए। कम्युनिस्ट पार्टीको सररकाले भ्रष्टाचार फैलाइएको उनको आरोप थियो।

बढ्दो भ्रष्टाचार, लोकतन्त्र र संविधानमाथिको मडारिएको खतराका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने उनको भनाइ थियो।

 

 Published Date: Tuesday, 25th February 13:51:19 PM