मंगलबार, चैत्र १८, २०७६

कोरोना भाइरसका कारण चीन भ्रमणमा कडाइ

| तस्वीर:एजेन्सी

चीनमा कोरोना भाइरसले २१३ जनाको ज्यान लिएको छ। यसले गर्दा यो साता चीनबाट हुने आगमन र चीन भ्रमणमा विभिन्न देशहरूले कडाइ गरेको छ।

कोरोनाभाइरस संक्रमित चीनमा दश हजार पुगेको छ। बीसभन्दा धेरै देशहरूमा संक्रमण फैलिएको छ। विश्व स्वास्थ्य संगठनले  विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ। अन्तर्राष्ट्रिय व्यापार वा यात्रा निषेध गर्नुपर्ने सुझाव संगठनले दिएको छैन। र निषेध गर्ने देशहरूलाई पनि पुनर्विचार गर्न संगठनले आग्रह गरेको छ।

यद्यपि विभिन्न देशले चीन यात्रामा कडाइ गरेका छन्।

अमेरिकाको स्टेट डिपार्टमेन्टले उच्चस्तरको चेतावनी दिएको छ। डिपार्टमेन्टले नागरिकलाई चीन यात्रा नगर्न र त्यहाँ भएकालाई तुरून्तै फर्किन आग्रह गरेको छ। सिंगापुर, भियतनाम र मंगोलियाले अझै कडाइ गरेका छन्।

भाइरस तिव्र फैलिएको बताउँदै गएको दुई सातामा चीन भ्रमण गरेका यात्रुलाई सिंगापुर सरकारले आवागमन र ट्रान्जिट निषेध गरेको छ। चिनियाँ राहदानीवाहकलाई नयाँ भिसा पनि दिएको छैन।

मंगोलियाले विमान, रेल वा सडक मार्गबाट आउने चिनियाँ नागरिक र विदेशीलाई मार्च २ तारिखसम्म निषेध गर्नेछ। सोहि अवधिसम्म मंगोलियाका नागरिकलाई पनि चीन जानबाट रोक लगाइएको छ।

भियतानमका प्रधानमन्त्रीले दुई सातामा चीन पुगेका चिनियाँ नागरिक र विदेशीलाई नयाँ पर्यटक भिसा दिन रोक लगाएका छन्। महामारी नियन्त्रण नभएसम्म चीनसँग व्यापार पनि निरूत्साहित गरिने उनले बताएका छन्।

जापानले बेलायत र जर्मनीजस्तै सकेसम्म चीन नजान अनुरोध गरेको छ।

सन् २००७ मा विश्व स्वास्थ्य संकट घोषण गर्ने अभ्यास सुरू भएपछि विश्व स्वास्थ्य संगठनले पाँच पटक संकटकाल घोषण गरिसकेको छ। स्वाइन फ्लु, पोलियो र जाइकाका लागि एक-एक पटक र इबोलाका लागि दुई पटक संकटकाल घोषणा गरिएको थियो। संगठनले अन्तर्राष्ट्रिय समुदायले पालन गर्नुपर्ने सुझाव दिने गर्दछ।

विश्व स्वास्थ्य संगठनले भाइरसको प्रसार रोक्न सीमा बन्द गर्ने उपाय प्रभावकारी हुन नसक्ने चेतावनी दिएको छ। त्यसले अझ फैलन सहयोग पनि पुग्न सक्ने संगठनले बताएको छ।

“अन्य घटनाबाट, इबोला होस् वा अरू, व्यक्तिलाई औपचारिक मार्ग खुला नगरिए अनौपचारिक बाटोबाट यात्रा गर्ने गरेको देखिएको छ,” विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्चियन लिन्डमायरले जेनेभामा भने।

विश्वभरि सरकारी निकाय, व्यवसाय र चिन्तित व्यक्तिले आफूखुशि गरिरहेका छन्। थुप्रै एयरलाइनले चिन जाने उडान रद्द वा घटाएका छन्। रूसले सुदुर पूर्वीको सीमा बन्द गरेको छ। पपुआ न्यु गिनीले एसियाली नाकाबाट आउने सबै आगन्तुकलाई निषेध गरेको छ। चीनको उहान शहरमा पहिलो पटक कोरोना भाइरस देखा परेको थियो। केहि देशले हुबेइ प्रान्तको त्यो शहर भएर आउने यात्रुलाई प्रतिबन्ध गरेका छन्।

इटालीले चीन जाने र आउने सबै उडान रोकेको छ। भाइरस फैलन नदिन संकटकाल घोषणा गरेर इटालीले फास्ट-ट्रयाक प्रयास सुरू गरेको छ।

विदेशमा व्यवहारिक कठिनाइ भोग्नुपरेको बताउँदै थाइल्यान्ड र मलेसियाबाट चार्टर विमान पठाएर हुबेइवासीलाई उहान ल्याउने काम थालेको चीनले जनाएको छ।

विश्वभरि चिन्ता बढिरहेको छ। एउटा क्रुज पानीजहाजमा दुई जना चिनियाँ यात्रु बिरामी परेपछि इटालीको एउटा बन्दरगाहमा ६ हजारभन्दा धेरै पर्यटक अस्थायी रूपमा त्यहि क्रुजमै बन्दी बनाइए। पछि उनीहरूलाई कोरोनाभाइरस नभएको पुष्टि भयो।

इन्डोनेसियाको सुलावेसी द्वीपमा चीनको नियन्त्रणमा रहेको औद्योगिक क्षेत्रमा ४० हजारभन्दा धेरै कामदारलाई क्वारन्टाइन गरिएको छ।

भाइरसको लक्षण देखिएका एक चिनियाँ यात्रु अस्पताल भर्ना भएपछि म्यान्मारले जहाज नै चीन फिर्ता पठाएको छ।

अमेरिकामा व्यक्तिबाट व्यक्तिमा सरेको पहिलो घटना फेला परेको छ। सिकागोका एक पुरूषलाई उहान गएकी पत्निबाट भाइरस सरेको बताइएको छ। बेलायत र रूसमा पनि दुई ओटा घटना देखिएको छ।

चीनले भाइरस फैलन नदिन निकै कडाइ गरेको छ। उहान र हुबेइ प्रान्त वरपरका पाँच करोडभन्दा धेरैलाई प्रभावकारी रूपमा क्वारन्टाइन गरेको छ। देशभरका विद्यालय अस्थायी रूपमा बन्द गरिएको छ। मानिसहरू धेरै यात्रान नगरून् भनेर चिनियाँ नयाँ वर्षको विदा बढाइएको छ।

तर मृतकको संख्या बढिरहेको छ। कोरोनाभाइरसले अहिलेसम्म २१३ जनाको ज्यान लिएको छ। सबै घटना चीनमै भएका हुन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक हजार नौ सय ८२ जना नयाँ संक्रमित फेला परेको जनाएको छ। योसँगै कुल संक्रमितको संख्या ९ हजार ६ सय ९२ पुगेको छ।

संक्रमितको संख्या सार्सभन्दा धेरै छ। सन् २००२-०३ मा दुई दर्जनभन्दा धेरै देशमा फैलिएको सार्सले ७७४ जनाको ज्यान लिएको थियो। धेरैजसो चीन र हङकङका नागरिक थिए।

चीनमै कोरोनाभाइरसको लक्षण देखिएका थप एक लाख दुई हजार मेडिकल निरीक्षणमा छन्।

विभिन्न देशले उहानबाट आफ्ना नागरिकको उद्धार गरिरहेका छन्। अमेरिका र जापानले आफ्ना नागरिक फिर्ता ल्यायो। बेलायत र फ्रान्सले सयौं नागरिकलाई स्वेदश फिर्ता ल्यायो।

जापानको पहिलो उद्धार उडानमा सवार तीन जनालाई भाइरसको संक्रमण भएको छ। दुई जनालाई कुनै लक्षण देखिएको थिएन। त्यसले कोरोनाभाइरसको पहिचान गर्न कठिनाइ भएको छ।

दक्षिण कोरियाले उद्धार गरेका ३५० जनामध्ये १८ जनालाई संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको जनाएको छ।

 Published Date: Thursday, 6th February 08:44:25 AM