बिहीबार, चैत्र २०, २०७६

म्यानचेस्टर सिटीमाथि किन लाग्यो प्रतिबन्ध, कस्तो असर पर्छ?

काठमाडौं, फागुन ४ : इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई युरोपियन फुटबल एसोसिएसनले (यूइएफए)ले दुई सिजन यूइएफएको मुख्य प्रतियोगिता (च्याम्पियन्स लिग र युरोपा लिग) खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।

युरोपियन फुटबलको वित्तीय नियम (फाइनान्सियल फेयर प्ले पोलिसी–एफएफपी) उल्लंघन गरेको भन्दै यूइएफएले सिटीलाई दुई सिजन प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना पनि लगाएको छ। 

म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन क्लब हो। सँगै संसारको धनी क्लब मध्येको एक पनि। युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए)को स्वतन्त्र वित्तीय नियन्त्रण निकायले सिटीले लाइसनिङ र फेयर प्ले नियम उल्लंघन गरेको ठहर गरेको हो।

यूइएफएले युरोपियन लिगमा धनी क्लब र गरिब क्लबबीचको बढ्दो खाडललाई कम गर्न र बढ्दो कर्जा संकटलाई समाधान गर्ने कोशिश गरिरहेको छ। यूइएफएका अनुसन्धानकर्तालाई जाँच गर्न समेत सहयोग नगरेको भन्दै सिटीको आलोचना भएको थियो। 

सिटीलाई यूइएफएले गरेको यो सजाय दशककै ठूलो हो। यसले म्यानचेस्टर सिटीको ब्यालेन्स सिट र लिगमा प्रतिस्पर्धा गर्ने सवालमा भविष्यमा गम्भिर संकट आउन सक्नेछ। च्याम्पियन्स लिगमा भाग लिने क्लबलाई प्रति वर्ष करिब १०० मिलियन डर प्राप्त हुन्छ। यो प्रतिबन्धले सिटीका केही स्टार खेलाडी, क्लबले भित्र्याउन चाहेका सम्भावित खेलाडी र प्रशिक्षक पेप गर्डिवालालाई समेत असर पुग्न सक्नेछ। यूइएफएले लगाएको प्रतिबन्ध खेलाडी र प्रशिक्षक बहिर्गमनको कारण बन्न सक्छ।  

यद्यपि यो प्रतिबन्धले चालू सिजनमा सिटीलाई च्याम्पियन्स लिग खेल्न कुनै असर पर्ने छैन। सिटीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। र, यो सिजन अन्तिम १६ मा स्पेनिस क्लब रियल मड्रिडसँग अर्को साता प्रतिस्पर्धा गर्दैछ। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको सिटीसामू अपिल गर्न पाउने विकल्प भने अझैं बाँकी छ। तर, सिटीको अपिल खारेज भएमा अर्को सिजनबाट उसले च्याम्पियन्स लिग खेल्न पाउँदैन।  

यूइएफएको यो फैसलापछि सिटीलाई प्रिमियर लिगले समेत कारबाही गर्ने सम्भावना बढेको छ। लिगको लागत नियन्त्रण नियम उल्लंघन गरेको आरोप समेत सिटीमाथि छ। गत मार्चमा सिटीका आन्तरिक दस्तावेज फुटबल लिकले बाहिर ल्याएको थियो। त्यसपछि प्रिमियर लिगले सिटीमाथि छानविन गरेको थियो। तर, प्रिमियर लिगका कार्यकारी अधिकृत रिचर्ड मास्र्टसले गत साता अनुसन्धानबारे सोधिएको प्रश्नमा जवाफ दिन मानेका थिएनन्।

यूइएफएको फैसला आए लगत्तै सिटीले एक विज्ञप्ति जारी गरी प्रतिबन्धविरुद्ध अपिल गर्ने संकेत गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यूइएफएको यो निर्णयले म्यानचेस्टर सिटी निराश छ, तर आश्चर्यचकित छैन। क्लबले एक स्वतन्त्र निकायको खोजी गरी प्रमाण पेश गर्नेछ।’

सिटीले पहिले नै यूइएफएले गरिरहेको छानविनलाई छोट्याउन माग गरेको थियो। च्याम्पियन्स लिगमा आफ्नो स्थान जोगाउन उसले अपिल गरेको थियो। तर, नोभेम्बरमा अदालतले सिटीको अपिल खारेज गरिदिएको थियो। अदालतले सिटीको अपिल खारेज गर्दै जबसम्म यूइएफएले अनुसन्धान सक्दैन तबसम्म मुद्दाको सुनुवाइ नहुने जनाएको थियो। 

तर, सिटीले भने वित्तीय अनियमितताको आरोप अस्वीकार गर्दै आएको थियो। गत वर्ष उसले एक विज्ञप्तिमा भनेको थियो, ‘वित्तीय अनियमितताको आरोप पुरै गलत छ।’

सिटीका आलोचकहरुले भने यूईएफएको कदमको स्वागत गरेका छन्। जेभियर टेबास (जो लामो समयदेखि सिटीका आलोचक हुन्) ले यूईएफको प्रशंसा गर्दै भनेका छन्, ‘अन्ततः कारबाहीको निर्णय नै भयो। फाइनान्सियल फेयर प्ले नियम लागू गर्न र वित्तीय डोपिङलाई सजाय गर्नु फुटबलको भविष्यका लागि आवश्यक छ। हामीले वर्षौंदेखि सिटी र पेरिस सेन्ट जर्मेनविरुद्ध कारवाहीको माग गरिरहेका छौं।’

सिटी विश्वको सर्वश्रेष्ठ र सबैभन्दा महँगो टिममध्ये एक हो। क्लबका मालिक शेख मन्सुर बिन जायद अल नाह्यान संयुक्त अरब इमिरेट्सका शासकका भाइ हुन्। शेख मन्सुरले पछिल्ला दुई दशकमा खेलाडी, प्रशिक्षक, सुविधा र टिम सञ्चालनमा सयौं मिलियन डलर लगानी गरेका छन्। म्यानचेस्टर सिटीलाई नयाँ ढाँचामा परिवर्तन गर्दा उसले सेकेन्ड डिभिजन खेलेको थियो। जबकि सिटी इंग्लिस फुटबलको सबैभन्दा ठूलो र सफल क्लब मध्ये एक हो। 

फुटबल लिक्सका कारण सिटीविरुद्ध वित्तीय अपचलनका धेरै आरोप लागेका थिए। सिटीले फेयर प्ले नियमलाई ध्यानमा राखेर त्यसअनुसार चल्न यूएईको राष्ट्रिय ध्वजाबहाक इतिहाद एयरलाइन्समार्फत लाखौं डलर खर्च गरेको आरोप समेत लाग्दै आएको छ। 

इतिहादसँगको प्रायोजन सम्झौतामा प्रायोजकले वार्षिक ६७.५ मिलियन पाउन्ड सिटीलाई दिने उल्लेख छ। तर, गत वर्ष जर्मन म्यागेजिन डेर स्पिएगेलमा प्रकाशित सिटीका प्रमुख वित्तीय व्यवस्थापक जोर्गे चुमिल्लासले सिटीका निर्देशक सिमोन पियर्सलाई पठाएको गोप्य इमेलमा सिटीको होल्डिङ कम्पनी अवुधाबी युनाइटेड ग्रुपमार्फत प्रायोजन रकममध्येको ५९.९ मिलियन पाउन्ड इतिहादलाई नै फिर्ता गरिएको बताएका थिए।

सिटी यसअघि पनि सन् २०१४ मा एफएफपी उल्लंघन गरेकोमा यूइएफएको  कारवाहीमा परिसकेको छ। कम्पनीका प्रायोजक तथा मालिकबाट प्राप्त हुने रकम बढाएर यूइएफएलाई रिपोर्ट बुझाउँदा सिटीलाई त्यसबेला प्रतिबन्ध नलगाई चेतावनीसहित जरिवानामात्र तिराइएको थियो। 

गत वर्ष जर्मन म्यागेजिन डेर स्पिएगेलमा प्रकाशित सिटीको आन्तरिक इमेलमा उसले आफ्नो आयको वास्तविक स्रोत स्पष्ट नखुलाएको र त्यसलाई लुकाउन विभिन्न प्रपन्च रचेको पाइएपछि यूइएफएले सिटीमाथि छानविन थालेको थियो। 

जसले सिटीलाई प्रतिबन्धको बाटो देखाए...

सिटीको आर्थिक अनियमितताको खुलासा कुनै खोज पत्रकार वा प्रहरीले गरेको होइन। सिटीलाई प्रतिबन्धको बाटो देखाउने युवा हुन् रुई पिन्टो।

उनी पोर्चुगलका ह्याकर हुन्। जसले घरमै बसेर छद्म नाम प्रयोग सिटीको अनियमितता बाहिर ल्याएका हुन्। उनले क्लबको इमेलमा पहुँच पाएपछि त्यसलाई मिडियासँग साझा गरे। त्यसबाट भएको सनसनीपूर्ण खुलासाले फुटबल जगतमा नै हलचल मच्चाएको छ। क्लबका शीर्ष अधिकारीहरुले पठाएको ७ करोड दस्तावेजलाई पिन्टोले तीन वर्ष लगाएर जर्मन पत्रिका डेर स्पेगललाई पठाएका थिए।

‘फुटबल लिक स्कान्डल’ ले यति बेला ३१ वर्षीय पिन्टोलाई जेल पुराएको छ। उनीमाथि लागेको मुद्दाको सुनुवाइ चलिरहेको छ। गत बिहीबार मात्र उनको याचिका खारेज गर्दै उनीमाथि ९० वटा विभिन्न मुद्दामा सुनुवाइ शुरु गरिएको थियो। सिटीमाथि प्रतिबन्धको समाचारसँगै सामाजिक सञ्जालमा पिन्टोलाई रिहा गर्न माग शुरु भएको छ।

-एजेन्सीको सहयोगमा
 

 Published Date: Sunday, 16th February 19:23:04 PM