बिहीबार, असोज ३०, २०७६

बुंगमतिमा मनकामनाको जात्रा आजसम्म

मनकामना अजिमा र आजु (मनकामनाको पति) | तस्वीर:तेजनारायण महर्जन

ललितपुर, असोज २२ : ललितपुरको बुंगमतिमा धुमधामका साथ मनकामनाको जात्रा चलिरहेको छ । महानवमीको राती मनकामना अजिमा र आजु (मनकामनाको पति)लाई मन्दिरबाट निकालिसकेपछि सुरु भएको जात्रा आज एकादशीसम्म चल्नेछ । स्थानीयका अनुसार बुंगमतिको मनकामना गोरखामा रहेको मनकामना माईकी मूल देवी हुन् ।

महानवमीको राती मन्दिरबाट बाहिर निकालिएको मनकामना अजिमालाई विजयादशमीको दिनभर बुंगमतिस्थित हयेगृव भैरवका मूर्तिसँगै राखिएको थियो । यहाँ दिनभर पुजा लिइसकेपछि सोही रातीबाट मूल जात्रा सुरु भयो । विजयादशमीको राती हनुमानको जात्रापछि एकादशीको दिन अजिमा र आजुलाई खटमा राखि जात्रा गरी दिनभर बुंगमतिको टोलटोलमा गई  पुजा लिने गर्दछ । स्थानीय केदार खड्गीका अनुसार खटलाई देउलय् (मच्छिन्द्रबहाल) घुमाइसकेपछि ध्वाखा पिने, बहिली, कोता, सतः, लाछि, ताहाफः, बाःछेँ टोलमा जात्रा गरी लगिन्छ ।

आजु पुजा

उनका अनुसार विजयदशमीको राती हनुमानको जात्रा हुन्छ । मनकामना आजु र अजिमाको पुजा सकिएपछि बुंगमतिका महर्जन, तुलाधर, शाक्य परिवारमध्ये कुनै व्यक्तिमा हनुमान जागृत हुन्छ । यसरी जागृत भएको हनुमान बुंगमतिको विभिन्न ठाउँमा जात्राको लागि राखिएको बाँसमाथि चढ्ने गर्दछ । हनुमानको जात्रालाई हनुमानले भीमसेनलाई बुंगमतिबाहिर फालिदिएको रुपमा लिइन्छ । किंवदन्तीअनुसार भीमसेनले हयेगृव भैरवलाई बाटो छेकि बाहिर आउन नदिएपछि भैरवले हनुमानलाई डाकी भीमसेनलाई बाहिर फाल्न लगाएका हुन् । यसलाई हनुमान लंका गएको पनि भनिँदै आएको छ ।

स्थानीय वृद्ध श्यामकृष्ण तुलाधरका अनुसार दशैंमा जात्रा गरिने बुंगमतिको मनकामना अजिमा गोरखास्थित मनकामनाको मूल देवी नै हुन् । ‘यहाँ मनकामनाको जात्रा हुने तीन दिन गोरखाको मनकामनामा पुजा हुँदैन,’ उनले यहाँको मनकामना नै मूल देवी रहेको बताउँदै भने, ‘त्यसैले महानवमीदेखि एकादशीसम्म तीन दिन त्यहाँको मन्दिर नै बन्द गर्नु पर्ने चलन रहेको छ ।’

बुंगमतिस्थित मनकामनाको मन्दिर

परम्पराअनुसार बुंगमतिमा मनकामनाको जात्रा हुँदा गोरखाको मनकामना माईको मन्दिर बन्द गर्नुपर्ने चलन रहे पनि हाल भने बन्द गर्ने चलन हराईसकेको छ । दशैंमा मनकामनामा भीड हुने भएकोले पनि यस्तो चलन हराएको हुनसक्ने स्थानीयको भनाई छ । 

बुंगमतिको मनकामना गोरखामा पुगेकासम्बन्धी किंवदन्ती पनि रहेको छ । किंवदन्तीअनुसार कुनै बेला मनकामना अजिमा र आजुबीच घरझगडा परेछ । घर झगडा भएपछि अजिमा रिसाएर घरबाहिर हिँडेछ । जाँदाजाँदै उनी गोरखासम्म पुगेछन् र थकाइ लागेर त्यहिँ बसेछन् । घरझगडा गरी बाहिर निस्केका अजिमालाई खोज्दै हिँडेका हयेगृव भैरवले अजिमालाई गोरखामा थकाई लागि बसेको अवस्थामा भेटाएछन् र फकाइ आफ्नो घरमा ल्याए । अजिमा बुंगमतिमा फर्केर आएको सुनेपछि आजु हयेगृव घरमा गई अजिमालाई लिन गए । तर हयेगृव भैरवले आजुलाई आफ्नो घरमा छिर्नै दिएन । 

यही किंवदन्तीअनुसार अहिले पनि जात्राको अवसरमा मनकामना अजिमालाई भने हयेगृव भैरवको मन्दिरभित्र लगि उनी सँगै राख्छन् भने आजुलाई भने मन्दिरको तल रहेको पाटीमा राखिन्छ । 

स्थानीयको भनाईअनुसार रिसाएर गएकी मनकामना अजिमा थकाइ लागेर बसेको ठाँउमा नै अहिले हाल गोरखाको मनकामना माईको मन्दिर रहेको छ । मनकामना त्यहाँ बसेको हुनाले गोरखाको मनकामनामा नाभी तलको भाग मात्र रहेको मानिन्छ भने बुंगमति रहेको मनकामनाको टाउकोको भाग मात्र रहेको छ । 

बुंगमतिको मनकामनाको मन्दिर मच्छिन्द्र बहालभित्र रातो मच्छिन्द्रनाथको मन्दिरको बाँयातर्फ रहेको छ । यस मन्दिरमा अन्य बेला कसैलाई जान दिइँदैन । जात्राको बेलामात्र मूर्तिलाई बाहिर ल्याउन स्थानीयलाई मन्दिरभित्र जान दिइन्छ ।
 

 Published Date: Wednesday, 9th October 10:02:03 AM