मंगलबार, कात्तिक २६, २०७६

महरालाई अरु तीन दिन थुनामा राख्न अदालतको आदेश

निवर्तमान सभामुख कृष्णबहादुर महरा । | तस्वीर:काठमाडाैंप्रेस

काठमाडौं, असोज २८ :  जिल्ला अदालत, काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

न्यायाधीश दीपककुमार दाहालको इजलासले उक्त आदेश दिएको हो। सरकारी वकीलको मागबमोजिम दिइएको उक्त आदेशअनुसार उनलाई अरु तीन दिन थुनामै राखिने छ । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक निर्णय गर्नेछ ।

प्रहरीले महरालाई असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २३ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो।  उनलाई सोमबार अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत लगिएको हो।

प्रहरीले दशैँ बिदाका कारण सरकारी कार्यालय बन्द हुँदा त्यसको १० दिनपछि मात्रै अदालतमा उपस्थित गराएको हो। त्यसैले आजसम्मकाे १० दिनका पनि जोडिने गरी म्याद थप भएको छ ।

 Published Date: Tuesday, 15th October 17:17:10 PM