बुधबार, मंसिर २५, २०७६

माधव नेपालको आरोप- सरकारी कर्मचारीले नै सीमाबारे भारतसँग भएका सम्झौताका दस्तावेज लुकाए

काठमाडौं, साउन २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत र नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गरेका हुन्।

उनले कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्व माथि नै शंका व्यक्त गरे। राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै उनले शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए।

नेता नेपालले भारतसँगको सीमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरी खोजिनु पर्ने बताए।

उनले तराई क्षेत्रमा वर्षेनी हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबर भन्दा पनि भारतले ठूलो आर्थिक दायित्व बहन गर्नु पर्ने तर्क गरे।
 

 Published Date: Wednesday, 14th August 16:40:06 PM