मंगलबार, मंसिर २४, २०७६

वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई हटाइने

नेपाल वायुसेवा निगम कार्यकारी अध्यक्ष मदन खरेल। | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, साउन २८ : नेपाल वायुसेवा निगम सुधारका ठोस कार्ययोजना पेश गर्न नसकेपछि कार्यकारी अध्यक्ष मदन खरेल पाँच दिनदेखि घर विदामा बसेका छन्।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगम नाफामा लैजाने र सवै जहाज उडान गरेर अधिकतम जनतालाई फाइदा पुग्नेगरी कार्ययोजना पेश गर्न निर्देशन दिएका थिए। ‘प्रत्येक दिन मन्त्रालय बोलाएर निगमको बारेमा मन्त्रीज्यूले चासो दिएपछि कार्यकारी अध्यक्ष मदन खरेल विदामा बस्नु भएको छ,’ निगमका एक उच्च अधिकारीले भने।

कार्यकारी अध्यक्षको रुपमा ११ महिना अघि नेपाल वायुसेवा निगममा प्रवेश गरेका खरेललाई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलेनै पदत्याग गर्न दबाब दिएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले तत्कालीन निगमका महाप्रवन्धक सुगरत्न कंसाकार वाइडबडी जहाज खरिदमा मुछिएको भन्दै खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गराएका थिए। खरेलले कार्ययोजनाअनुसार, कुनै पनि काम ११ महिनामा गर्न नसकेपछि  प्रधानमन्त्री कार्यालयदेखि पर्यटन मन्त्रालयका उच्च अधिकारीहरू असन्तुष्ट हुँदै आएका छन्।

मन्त्री भट्टराईले काम गर्न नसके पद ओगटरेर नबस्न निगमको ब्रिफिङमा समेत भनेका थिए। सरकारसँग २० अर्ब रुपैयाँ माग गर्दैै आएका खरेललाई मन्त्री भट्टराईले सबै जहाज नउडाएसम्म एक रुपैयाँ पनि दिन नसक्ने जनाउ दिएका थिए।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई समेत वाइपास गरेर प्रधानमन्त्री ओलीले आफ्नै गृहजिल्ला झापाका खरेललाई निगमको कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरेका थिए । खरेलले प्रतिवद्धताअनुसार, काम गर्न नसकेपछि असन्तुष्ट बनेका ओलीले उनको विकल्प खोजेका हुन्। मन्त्री भट्टराईलाई समेत प्रधानमन्त्री ओलीले निगमका योग्य व्यक्ती खोज्न निर्देशन दिएको समेत मन्त्रालय स्रोतको भनाइ छ।

खरेल चार वर्ष अघि पनि निगमका प्रवन्ध निर्देशकको रुपमा कार्यरत थिए। दुई वटा एयरवस ३२०–२०० सिरिजको न्यारोवडी जहाज खरिद गरेका खरेलले व्यवस्थापन सम्हाल्न नसकेपछि राजिनामा दिएका थिए। त्यस लगत्तै सुतगरत्न कंसाकारलाई महाप्रवन्धकको रुपमा नियुक्ती गरिएको थियो। वाइडवडी जहाज खरिद प्रकरणमा कंसाकारको विषय जोडिएपछि खरेललाई नियुक्त गरिएको थियो।

प्रधानमन्त्री कार्यालयले खरेलको नियुक्तीसँगै निगममा अझै अराजकता भित्रिएको, नयाँ वाइडबडी जहाजलाई नयाँ तथा लामो दूरीमा उडान भर्न नसकेको, उल्टो खरेलले सञ्चारमाध्यममा वाइडबडी जहाज निगमलाई घाँडो बनेको अभिव्यक्ती दिदैं हिँडेको आरोप लगाएको छ। खरेलले जापान उडाउने भनेर पटक पटक प्रधानमन्त्रीलाई ढाँटेको, नारिता उडाउनुपर्नेमा ओशाका उडाउन पहल गरेको आरोप समेत खरेलमाथि लागेको छ।

त्यस्तै, खरेलले चिनियाँ जहाज सेनालाई दिने प्रस्ताव गरेको तथा आन्तरिक गन्तव्यमा उडानको कार्यतालिका अनुसार जहाजलाई उडाउन नसकेको, रणनीतिक साझेदार भित्र्याउने सरकारी पहललाई असहयोग गरेको, वाइडबडी जहाजले नाफा कमाएको भन्दै गलत तथ्यांक दिएको, सञ्चयकोष तथा नागरिक लगानी कोषलाई ऋणको किस्ता नतिरेको, मर्मत गरेर उडाउनु पर्ने वोइङ जहाज पनि लिलामी गरेर कौडीको भाऊमा बिक्री गर्न लागेको आरोप छ।

न्यारोवडी तथा वाइडवडी जहाजको मर्मतका लागि भएका टेन्डरमा समेत खरेलले निश्पक्षता नदेखाएको आरोप पनि लागेको छ। यो विषय संसदको सार्वजनिक लेखा समितिमा समेत पुगेको छ। विवादका कारण मर्मत सम्भारको कामनै निगमले अगाडी बढाउन सकेको छैन। कर्मचारीहरुमा चरम गुटबन्दी निर्माणमा खरेललेनै सहयोग गरेको आरोप समेत लागेको छ।

 Published Date: Tuesday, 13th August 10:10:41 AM