बुधबार, साउन २१, २०७७

मजदूर भन्छन्, ‘लकडाउनले भोकै बस्नुपर्ने अवस्था आयो’

काठमाडौं, असार १२ : तीन महिना लामो लकडाउनले मजदूर समस्यामा परेका छन्। कामकाज गर्न नपाउँदा भोकै बस्नुपर्ने अवस्था आएको उनीहरुले बताएका छन्।

कोरोना भाइरसको संक्रमण रोक्न गत चैत ११ गतेदेखि गरिएको लकडाउन तीन महिना नाघेको छ। असार १ गतेदेखि केही खुकुलो भएपछि बजार, व्यवसाय खुल्न थालेका छन्।

निजी सवारी साधानलाई जोर बिजोर नम्बरमा चलाउन दिइएको छ। तर, सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा मजदूरलाई भने सकस भएको छ।

सरकारले राहतको व्यवस्था नगर्दा समस्या भएको मजदूर रामगोपाल विश्वकर्माले बताए। गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका उनले भने, ‘सरकारले चैत महिनामा पाँच किलो चामल र एक लिटर तेल दिएको थियो। त्यसपछि कसैले सहयोग गरेका छैन। छाक टार्नै मुस्किल भएको छ।’

लकडाउनको सुरुआतमा स्थानीय सरकारले राहत वितरण गरेपनि अहिले कठिन अवस्थामा वास्ता नगरेको उनको गुनासो छ।

गोकर्णेश्वर नगरपालिका–७ मा बस्दै आएका मजदूर नरेन्द्र श्रेष्ठको पीडा पनि उस्तै छ। सरकारले उचित राहतको व्यवस्था नगर्दा समस्या भएको उनले बताए। ‘सरकारले राहत नदिएपछि कोरोनाको जोखिम लिएर काम गर्न जान बाध्य भएका छौं,’  उनले भने।

आर्थिक अवस्था बलियो हुनेहरुलाई घरमै बसेर खान सक्ने भएपनि मजदूरी गरेर खानेलाई समस्या भएको उनले बताए। ‘सुरुआतमा राहत बाँडियो, अहिले भोकमारी लाग्ने वेलामा कसैको सहयोग छैन्,’ उनले भने।

मजदूरसँगै विद्यार्थीलाई पनि समस्या भएको छ। डेरा गरेर बसिरहेका कयौं विद्यार्थीलाई कसरी छाक टार्ने भन्ने समस्याले पिरोलेको छ। कागेश्वरी मनोहरा नगरपालिकास्थित मदन आश्रित कलेजमा पढ्ने कैलालीका धनु विकले लकडाउनले गर्दा समस्या भएको बताए। ‘लकडाउनले घर जान पाइन, यहाँ बस्दा बस्दा बिजोग भएको छ,’ उनले भने।

चामल किन्ने पैसा पनि नभएको उनले दुःखेसो गरे। नगरपालिका र आफन्तको सहयोगमा केही समय राहत मिल्ले पनि अबको अवस्था अझ नाजुक भएको उनको भनाइ छ।

काम गर्दै पढाइ गरिरहेका विद्यार्थीलाई समस्या भएको हो। घरबाट पैसा पठाउन सक्ने अवस्था नभएको र यता लकडाउनले काम नभएको उनीहरुले दुःखेसो गरेका छन्।

 Published Date: Friday, 26th June 11:49:22 AM