शुक्रबार, साउन ३०, २०७७

‘सरकारले नै लकडाउनमा पनि पसल खोल्न बाध्य बनायो’

काठमाडौं, जेठ २८ : लामो लकडाउनले जनजीवन कष्टकर बन्न थालेपछि कोरोना भाइरस संक्रमणको जोखिम मोलेर भएपनि केही व्यवसायीले व्यवसाय सञ्चालन गर्न सुरु गरेका छन्। राजधानीका विभिन्न क्षेत्रमा पसलहरु खुल्न थालेका छन्।

चैतर्फी मर्कामा परेपछि कोरोना भाइरसको जोखिम मोलेर भएपनिल पसल खोल्न बाध्य भएको व्यवससायीहरु बताउँछन्। ‘हामीलाई पसल खोल्ने रहर थिएन। बाध्यताले सञ्चालन गरेका हौं,’ जोरपाटीमा कपडा पसल सञ्चालन गर्दै आएकी नम्रता पराजुली भनिन्।

आज लकडाउनको ७९औं दिन हो। यतिका दिनसम्म सरकारले कुनै नीति नलिएपछि व्यवसाय सञ्चालन गर्न बाध्य हुनुपरेको उनको भनाइ छ। ‘ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेको हुन्छ। घरमा भाडा तिर्नुपर्छ,’  उनले भनिन्, ‘कोठामा भाडा छुट छैन। बंैंकको किस्ता तिर्न केही सहज छैन्। कोठामा बसेर खान पनि राहत छैन। लकडाउन मात्र थपिरहेपछि पसल खोल्न बाध्य भयौं।’

त्यस्तै, बौद्ध पिपलबोटमा कपडा र झोलाको पसल सञ्चालन गर्दै आएकी रेनुका दाहालले लकडाउनका कारण साह्रै मर्कामा परेपछि पसल खोलेको बताइन्। ‘रहरले खोलको होइन, ऋणले जोखिम मोल्न सिकाएको हो,’ उनले भनिन्।

माहामारीको समयमा सरकारले जनतालाई सुरक्षित राख्ने र सबैलाई सहज वातावरण बनाउनुपर्ने उनको भनाइ छ। तर, उल्टै कर बुझाउन ताकेता गरेपछि अप्ठ्यारो भएको उनले बताइन्।

‘लकडाउनले व्यवसाय ठप्प छ। आर्थिक संटक छ। यस्तो वेला दैनिक गुजारा चलाउन सहज बनाउनुको सट्टा सरकारले कर तिर्न दवाव दिइरहेको छ,’ उनले भनिन्, ‘सरकारकै दवावका कारण पसल खोल्न बाध्य भयौं।’

विपन्नलाई समेत सरकारले वास्ता नगरेको व्यवसायीको गुनासो छ। पाँच किलो चामल र एक प्योकट तेलले तीन महीना धान्न नसकिने उनीहरु बताउँछन्। ‘भोकले हामीलाई बाहिर निस्किन बाध्य बनाइएको हो,’ अर्का व्यवसायी  टिकाराम श्रेष्ठले भने।

महामारीको डर भए पनि सरकारको वेवास्ताले व्यवसाय खोल्न बाध्य पारेको उनको भनाइ छ। ‘महामारी फैलिरहेको समयमा हामीलाई पनि बाहिर निस्किन रहर होइन, बाध्यता हो,’  उनले भने।

चारैतिरबाट दवाव परेपछि कोठामै बस्न नसकिएको उनको भनाइ छ। ‘बैंकको किस्ता, सरकारलाई राजश्व, परिवारलाई खाद्यान्न, घरधनीलाई  कोठाभाडा  तिर्नुपर्छ,’ उनले भने, ‘यति लामो समय लकडाउन हुँदा पनि केही सहज वातावरण बनाउन नसकेपछि विकल्प नभएर सडकमा उत्रिनु परेको हो।’

व्यवसायीहरुको लागि सहज नीति बनाउन नसक्ने भए व्यवसायीहरु सुरक्षा अपनाउँर्दै व्यवसाय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीहरुलाई काम गर्नको लागि सहज बातावरण बनाउन दवाव दिनको लागि व्यवसाय सञ्चालन गरिरहेको बताए। ‘व्यवसायीहरुको लागि सरकारले केही काम पनि नगर्ने र काम गर्न पनि नदिने प्रवृति  देखियो,’ उनले भने।

सरकारले ध्यान नदिदा व्यवसायी सकडमा उत्रिनुपरेको उनको भनाइ छ। ‘आर्थिक अवस्था बलियो भएका र बैंकमा रकम जम्मा गरेकाहरुले लकडाउनको समयमा सदुपयोग गर्दै मिठा खानेकुरा खालान, तर व्यवसायकै भरमा बाचेका व्यवसायीहरुलाई समस्या परेको छ,’ उनले भने।

अब व्यवसाय सञ्चालन गर्नका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ छ। नत्र  देशभरका व्यवासयी तथा सर्वसारधाण लकडाउन तोडेर सडकमा उत्रिन बाध्य हुने उनको भनाइ छ।

 

 Published Date: Wednesday, 10th June 13:02:39 PM