शनिबार, असार २७, २०७७

राहत वितरणमा विभेद गरेको भन्दै मजदुरको विरोध

काठमाडौं चैत २५ः कागेश्वरी मनोहरा नगरपालिका ८ मा राहत विरणमा विभेद भएको भन्दै मजदुरहरुले विरोध गरेका छन्। राहतका लागि १७ सयले निवेदन दिए पनि वडाले सात सयलाई मात्र राहत वितरण गरेपछि नपाउने असन्तुष्ट भएका हुन्।

मजदुरले रातह वितरणमा पनि आफ्नो र अर्काको छुट्याएर भेदभाव गरेको आरोप लगाए। मजदुरी गरी गुजारा चलाउँदै आएका नरे श्रेष्ठले ज्याला मजदुरी गरेर खाने सबैलाई लकडाउनले समस्या परेकाले भेदभाव नगरी राहत वितरण गर्नुपर्ने बताउँछन्। ‘ज्याला मजदुरी गरी खाने मानिसलाई समान ढंगले राहत वितरण गर्नुपर्छ,’ उनले भने, ‘मजदुरमा पनि विभेद गर्नु गलत हो।’

लामो समय बन्द भएकाले मजदुरले खाने कुराको जोहो गर्न संभव नभएकाले उनले बताए  । दैनिक काम गरेर खाने बर्गमा समस्या परेका सबैलाई राहत दिनुपर्ने उनले जिकिर गरे। 

त्यस्तै, बालुवा चालेर दैनिकी चलाइरहेकी ४० वर्षीया साइली विसुन्केले काम बन्द भएकाले पैसा नभएको बताइन्। 

‘काममा नगएपछि खाद्यन्न किन्ने पैसा छैन। वडाले न्युन वर्गलाई मात्र राहत दिने भनेर हामीलाई दिएन,’ उनले प्रश्न गरिन, ‘काम नगरे खान नपुग्ने हामी उच्च आय स्तर भएका हौं र?

न्यून आयलाई मात्र राहत

कागेश्वरी मनोहरा नगरपालिका ८ का वडाध्यक्ष कृष्णप्रसाद चापागाईले राहतका लागि १७ सयले निवेदन दिएको बताए । त्यसमध्ये निकै न्यून अवस्था भएका मजदुर बर्गको पहिचान गरी राहात वितरण गरिएको उनले जानकारी दिए।

‘यहाँ मजदुरहरुको बाक्लो बस्ती छ,’ उनले भने, ‘हामीले विभेद गरेको नभइ त्यसमध्ये पनि निकै कमजोर अवस्था भएका मजदुरलाई राहत प्रदान गरेको हौं।’

परिवारको कुनै एक सदस्य रोगजारीमा भएको, जग्गा भाडामा लिएर टहरा बनाएर बसेकाहरुलाई राहत दिँदा विपन्न बर्गलाई मर्का पर्ने भएकोले अवस्था छुट्याएर राहत वितरण गर्दा विवाद आएको उनी बताउँछन्।

राहतका लागि नगरपालिकाले पाँच लाख, स्थानीयले संघ संस्था र व्यक्तिले गरेको सहयोग १ लाखसमेत ६ लाख जम्मा भएको चापागाईले बताए । लकडाउन जारी रहे सो रकमबाट पनि विपन्न मजदुरलाई राहत बाड्ने उनले बताए।

कोठाभाडामा बस्ने सबैलाई राहत दिन नगरपालिकाको निर्देशन 

कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख कृष्णहरि थापाले वडा नम्बर ८ मा मजदुरहरुको संख्या धेरै भएकाले सबैलाई दिन बजेट नपुग्ने भएकाले विवाद भएको बताए। 

वडाले छानविन गरी निम्न वर्ग, एकल महिला, अपागंता भएको परिवारलाई मात्रै राहत वितरण गरेको थापाको भनाई छ । ‘त्यही भएर विरोध भएको हो,’ उनले भने, ‘राहतका लागि निवेदन दिने वास्तवित पीडित भए नभएको बुझेर राहत वितरण गर्न भनेको छु।’ 

 Published Date: Tuesday, 7th April 18:48:22 PM