बुधबार, मंसिर २५, २०७६

लिभरपुलले जित्यो सुपर कपको उपाधि

काठमाडौं, साउन ३० : चिरप्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै लिभरपुलले युईएफए सुपर कपको उपाधि जितेको छ। 

इस्तानबुलमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै सुपर कपको उपाधि उचालेको हो। 

निर्धारित ९० मिनेट र थपिएको अतिरित्त समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि उपाधिको छिनोफानो पेनाल्टी सुट आउटबाट लिइएको थियो। जसमा लिभरपुलले बाजी मार्‍यो। पेनाल्टी सुट आउटमा लिभरपुलका गोलरक्षक एड्रियन नायक बनेपछि चेल्सी ५–४ ले स्तब्ध भयो।

यसअघि खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो। खेलको ३६ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

तर, त्यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ४८ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। 

खेलको ९५ औं  मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई फेरि २–१ को अग्रता दिलाए। तर, खेलको १०१ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो र मिडफिल्डर जोर्जिन्होले पेनाल्टीमार्फत खेल गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए।

अतिरित्त समयमा धकेलिएको खेल पनि बराबरीमा सकिएपछि नतिजाको टुंगो पेनाल्टी सुट आउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा लिभरपुलका गोलकिपर एड्रियन नायक बने। उनले चेल्सीका टमी अब्राहमको प्रहार रोकेपछि लिभरपुल ५–४ गोल अन्तरले विजयी भयो।

योसँगै च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचाल्न सफल भयो। 
 

 Published Date: Thursday, 15th August 06:40:45 AM