सोमबार, मंसिर ३०, २०७६

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नक्सा जारी गर्न सरकारलाई निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठक। | तस्वीर:रासस

काठमाडौं, कात्तिक २५ : लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको नक्सा जारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकले दार्चुलाको भारतले आफ्नो नक्सामा समेटेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्न निर्देशन दिएको हो।

समितिको बैठले ‘नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्नुका साथै हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुरासम्मको भू-भाग समावेश गरी नयाँ नक्सा तयार पार्न नेपाल सरकारलाई निर्देशन दिने’ निर्णय गरेको छ।

त्यस्तै, कूटनीतिक पहलबाट समस्याको समाधान निकाल्न र नभए विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

यस अघि समितिको बैठकमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दालहाल प्रचण्डले कालापानी लगायतको भूभाग नेपालकै भएको बताएका थिए। उनले अहिले यसलाई अन्तर्राष्ट्रियकरण नगरेर कूटीनिति तवरबाट समाधान गर्नु पर्ने बताएका थिए।