शुक्रबार, साउन ३०, २०७७

पहिरोले दुई परिवार नै तहसनहस

तनहुँ, असार ३० : पहिरोले तनहुँका दुई परिवार नै तहसनहस बनाएको छ। बालबालिकाकाे समेत ज्यान गएपछि गाउँनै शोकमा डुबेको छ।

केही दिनदेखि भीषण वर्षाको खबर सुनिरहेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन। उनी र पत्नी ज्योतीमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए।

पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए। राति १२ बजे अकस्मात पहिरो खस्दा आनबहादुर र ज्योतीमाया त बाँचे, तर दुई छोराबुहारी र नातिनीको भने ज्यान गयो। आनबहादुर सकुशल छने भने घाइते ज्योतीमायालाई उपचारका लागि पोखरा लगिएको छ।

“आनबहादुर र ज्योतीमाया सुतेको पुरानो घर भत्किए पनि उहाँहरुको ज्यान जोगिएको छ,” ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भने, “तर, सँगै जोडिएको नयाँ घर भने पूरै भत्किएर पाँच जनाको निधन भयो।”

पहिरोले घर पुरिँदा ३० वर्षीय भेषबहादुर थापा, उनकी पत्नी २९ वर्षीया नानुमाया, छोरी पाँच वर्षीया अमिषा, भाइ २२ वर्षीय महादेव र भाइबुहारी १९ वर्षीया मनिसराको मृत्यु भएको छ। एकै परिवारका पाँच जनाको पहिरोले पुरिएर निधन भएपछि सिङ्गो गाउँ नै स्तब्ध छ। “एकदमै नसोचेको घटना भयो, गाउँ पूरै शोकमा छ,” उनले भने।

रातिको समयमा घटना घटेकाले स्थानीयवासीले थाहा पाउँदा बिहानको ५ बजेको थियो। लगत्तै प्रहरीलाई खबर पुगेपछि प्रहरी पनि घटनास्थलमा पुगेर पहिरोमा पुरिएकाको उद्धारमा जुटेको थियो। साथै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो। दिनभरको प्रयासपछि घरमा पुरिएका पाँच जनाको नै शव निकालिएको छ।

त्यस्तै, व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी पत्नी ४० वर्षीया कमला, छोराछोरी २४ वर्षीय मनोज र २१ वर्षीया अन्जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले पुरिएर घाइते केशरबहादुरलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। केशरबहादुरका २० वर्षीय राजेश भने अझै बेपत्ता छन्।

व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको निधन भएको छ। त्यस्तै व्यास नगरपालिका–११ ओडारेका पदम चेपाङ पहिरामा बेपत्ता भएका छन्।

 Published Date: Tuesday, 14th July 10:36:12 AM