बिहीबार, चैत्र २०, २०७६

स्पेनिस ला लिगामा रियल र सेल्टाले अंक बाडे 

काठमाडौं, फागुन ५ : स्पेनिस ला लिगामा सेल्टा भिगोले रियल मड्रिडलाई बराबरीमा रोकेको छ । सान्टी मिनाले खेल सकिनु पाँच मिनेटअघि गोल गरेपछि एक गोलको अग्रता लिएको रियल मड्रिड अंक बाँड्न बाध्य भएको हो ।

आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलको सातौं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए ।

त्यसपछि टोनी क्रुजले १६ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा ५२औं मिनेटमा रियलले खेल बराबरीमा पुर्यायो । ६५औं मिनेटमा रियलले पेनाल्टी पायो । त्यो पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै मिनाले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

बराबरीपछि ला लिगा अंक तालिकामा रियल मड्रिडले जम्मा एक अंकको अग्रता लिएको छ । २४ खेलबाट रियलले ५३ अंक बनाएको छ भने दोस्रो स्थानको बार्सिलोनाको ५२ अंक छ । सेल्टा भने २१ अंकसहित १७औं स्थानमा छ ।

 Published Date: Monday, 17th February 07:50:11 AM