बिहीबार, असोज ३०, २०७६

कुमारीले पचली भैरवबाट शक्ति लिइन्

काठमाडौं, असोज १७ : जीवित देवी कुमारीले आफ्नो शक्ति पुनःप्राप्त गरेकी छिन् । बिहिवार बेलुकी करिब १० बजे हनुमानढोका परिसरमा पचली भैरवसँग दृष्टि जुधाउँदै उनले आफ्नो शक्तिलाई पुनःप्राप्ती गरेकी हुन्। 

आफ्नो शक्तिलाई पुनःप्राप्ती गर्ने क्रममा उनले करिब ३ मिनेट पचली भैरवको दर्शन गरेकी थिइन्। जीवित देवी कुमारीलाई शक्ति प्रदान गर्न पचली भैरवलाई टेकुस्थित पचली मन्दिरबाट जात्रा गरि बेलुकी हनुमानढोका ल्याइएको थियो। 

पचलीसँगै अजिमा र रुद्र विनायकको पनि जात्रा गरि ल्याइएको थियो । हनुमानढोकामा पुजा लिइसकेपछि ढोकाको अगाडी सत्तलमा बसेका कुमारीलाई पचलीले दर्शन दिएका थिए। 

पचली भैरवलाई कुमारीको बुबाको रुपमा मानिँदै आएको छ । हरेक वर्ष हुने पचलीको जात्राको क्रममा आस्विन शुल्क पंचमीको दिन पचली भैरवलाई हनुमानढोकामा ल्याइने चलन रहेको छ । पचली भैरव हनुमानढोका ल्याइँदा कुमारीलाई पनि कुमारी घरबाट पचली भैरवको दर्शन गर्न हनुमानढोकामा ल्याइन्छ। 

पूर्वकुमारी मतिना शाक्यकी बुबा प्रतापमान शाक्यका अनुसार जीवित देवी कुमारी वर्षको १३ पल्ट मात्र कुमारीघरबाट निस्कने गर्दछ । ती मध्ये पचली भैरवको दर्शनको लागि पनि एक रहेको उनले बताए । उनका अनुसार पचली भैरव कुमारीको बुबा भएकोले दर्शन गर्न हनुमानढोका ल्याइएको हो।

 ‘पचली भैरवलाई कुमारीको बुबा मानिन्छ’ पूर्वकुमारीका बुबा शाक्यले भने, ‘पहिलो कुमारी घरमा हरेक शनिबार पचलीका पुजारी आई कुमारीलाई पचली भैरवको फूलप्रसाद दिन ल्याउने गर्दथे । अहिले भने आउन छोडेको छ । यसरी कुमारीले पचलीको पूmलप्रसाद ग्रहण गर्नु भनेकै पचली भैरव कुमारीको बुबा हो भन्ने संकेत गर्दछ । किनभने कुमारीले पचली भैरव बाहेक अरु कुनै पनि देवीदेवताको प्रसाद ग्रहण गर्ने गर्दैन ।’

पचली भैरवको जात्रा लिच्छविकाल देखि नै चल्दै आएको मानिन्छ । लिच्छविकालमा नगर बनाउँदा पचली भैरवलाई देशको रक्षाको लागि टेकुस्थित पचली पिठमा स्थापना गरिएको हो । भैरवलाई अहिले पनि राष्ट्रको रक्षकको रुपमा पुजिँदै आइरहेको छ । राष्ट्रको रक्षकको रुपमा मानिँदै आएकोले राजतन्त्र कायम रहेको अवस्था सम्म पचली भैरवले हरेक १२ वर्षमा राष्ट्र प्रमुख राजासँग खड्गसिद्धि गर्दथे । राजा वीरेन्द्र हुँदा सम्म पचली भैरवसँग हरेक १२ वर्षमा खड्ग साट्ने चलन रहेको थियो । यसरी पचली भैरवसँग खड्ग साट्नेलाई खड्गसिद्धि भनिन्थ्यो । काठमाडौंको काष्ठमण्डप सँगैरहेको भूतिसतःमा हरेक १२ वर्षमा राजाले खड्ग साट्ने प्रचलनलाई पचली भैरवले राजालाई देशको रक्षार्थ शक्ति प्रदान गरेको रुपमा मानिन्थ्यो। 

हरेक १२ वर्षमा अष्टमातृकाको गणसहित पचली भैरवको नाच निकालिने गरिन्छ । ‘गथु प्याखं’ भनिने यस नाचमा भैरव भइ आउनेले राजासँग खड्ग सिद्धि गर्दथे । देशमा गणतन्त्र आइसकेपछि भने खड्गी सिद्धि गर्ने चलन बन्द भइसकेको छ।

 पचली भैरवको जात्रा हरेक वर्ष दशैंको बेला घटस्थापनाबाट सुरु भई पञ्चमी सम्म मनाइने गरिन्छ । पचली भैरवसँग नैं अजिमा र रुद्र विनायकको पनि जात्रा हुन्छ।
 

 Published Date: Friday, 4th October 19:42:56 PM