सोमबार, भदौ ३०, २०७६

नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति, दुई अध्यक्षले गरे छाप्न पठाउने निर्णय

नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड | तस्वीर:फाइल फोटो

काठमाडौं, असार २२ः नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच विवादका कारण छापिन नसकेको पार्टी एकतापछिको राजनीतिक प्रतिवेदनमा सहमति जुटेको छ । केही दिनदेखि दुई अध्यक्षबीचको दैनिक छलफलपछि आज उक्त प्रतिवेदनलाई छाप्न पठाउने निर्णय गरेको हाे ।

अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन छपाइका लागि पठाउने गरी टुंगो लागेको आज सार्वजनिक गरेका छन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशन उद्घाटन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटले प्रतिवेदनमा सहमति जुटेको खुलासा गरे ।

दुई साताअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘जनताको बहुदलीय जनवाद’ नै उल्लेख गरी प्रकाशन गर्ने प्रस्ताव गरेपछि विवाद सतहमा आएको थियो, जुन विवाद सोही बैठकले नै टुंग्याएको थियो । त्यसलाई सामान्य सम्पादन गरी छपाइका लागि पठाउने सहमति गरिएको थियो । 

याे पनि हेर्नुस् : प्रधानमन्त्री भेट्न दैनिक बालुवाटार जान्छन् प्रचण्ड

‘एक वर्षदेखि सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुङ्ग्याइएको छ’, प्रचण्डले भने,  ‘त्यो भोलि प्रकाशनमा जाँदैछ । त्यो पार्टी एकताको सन्दर्भको एउटा ठूलो काम भएको छ।’

राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक नीतिमा अन्योल रहेको बताउँदै उनले भने, ‘आजबाट त्यो अन्यौलको अन्त्य गर्ने निर्णय गरेका छौं ।’

 

 

 Published Date: Sunday, 7th July 16:41:03 PM