
प्रधानमन्त्री केपी शर्मा ओली।
काठमाडौं, मंसिर १२ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ। उनी हिडडुल गर्न थालेको जनाएको छ।
प्रधानमन्त्री ओलीको कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरेपछि उपचार चलिरहेको छ। बिहीबार बिहान सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जनाएका छन्।
अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको व्यहोरा जानकारी गराइन्छ।’
प्रधानमन्त्री ओलीलाई अहिले पनि सघन उपचार कक्ष (आईसीयू)मै राखिएको छ। केही दिन आईसीयूमै राखेर उपचार गरिने जनाएको छ।
पेट दुखेपछि मंसिर १० गते बिहान सेन्टरमा भर्ना गरिएको थियो। उनको एपेन्डिक्स र त्यसवरिपरिको भागमा समस्या देखिएपछि पेरिटोनाइटिस शल्यक्रिाय गरिएको थियो। ठूलो आन्द्रासँगै हुने एपेन्डिक्स फुटेमा वा त्यसभित्र जमेको पिप बाहिर निस्केर वरिपरिको भागमा संक्रमण भएपछि पेरिटोनाइटिस भन्ने गरिन्छ।
शल्यक्रिया गरेर प्रधानमन्त्रीको एपेन्डिक्स फाल्नुका साथै त्यसपरिवरि भएको संक्रमण पनि सफा गरिएको हो।
आज प्रधानमन्त्री कुराकानी गर्न र हिडडुल गर्न सकिराखेको अस्पतालले जनाएको छ। बुधबार केही बोलचाल गरेपनि हिडडुल गर्न सकेका थिएनन्। अझै कसैसँग भेटघाट भने गर्न दिइएको छैन।