बुधबार, असोज १४, २०७७

प्रधानमन्त्रीलाई विज्ञको सुझाव : जोखिम बढ्यो, लकडाउन गरौं

काठमाडौं, साउन २० :  जनस्वास्थ्य विज्ञहरुले सरकारलाई लकडाउन गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जनस्वास्थ्य विद्हरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा कोरोना भाइरसको जोखिम बढेकाले लकडाउन गर्नुपर्ने सुझाव दिएका हुन्। 

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा‍. समिरमणी दीक्षितका अनुसार छलफलमा अधिकांश विज्ञले पुरानै मोडलमा लडकाउन गर्नुपर्ने सुझाव दिएका छन्। 'धेरै साथीहरुले पुरानै मोडलमा लकडाउन गर्नुपर्नु सुझाव दिनुभयो। कतिपयले कर्फ्यु लगाउनुपर्छ भनेर धारणा राख्नुभयो,' दीक्षितले भने।

केहीले भने लकडाउन स्थायी समधान नभएको र जोखिम हेरेर आवश्यक निर्णय लिनुपर्ने सुझाव दिएका थिए। 'म लगायत केही साथीहरुले चाहिँ जोखिम हेरेर निषेधाज्ञा गर्नुपर्नेमा जोड दियौं। कोरोनाको भ्याक्सिन आउन समय लाग्ने भएकाले सबै ठाउँमा लकडाउन गर्न उचित हुँदैन,' दिक्षितले भने। 

यस्तै विज्ञहरुले सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने सुझाव समेत दिएका छन्। कतिपयले सार्वजनिक सवारीमा कडाइ गरिनुपर्ने धारणा राखेको दिक्षितले जानकारी दिए।  

वीरगञ्ज, काठमाडौं, विराटनगर लगायतका ठाउँहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। सोही कारण प्रधानमन्त्री ओलीले विज्ञहरु डाकेर छलफल गरेका थिए। छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी थिए।

 Published Date: Tuesday, 4th August 2020 10:34:32 am