
सूर्य थापाको फेसबुकबाट
काठमाडौं, साउन २० : काठमाडौं उपत्यका लगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविद्हरुसँग छलफल गरेका छन्।
बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुरको पनि सहभागिता रहेको छ। छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने सहभागी छैनन्। विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए कोरोना संक्रमणको भयावह अवस्था आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओली छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसँग परामर्श गरेका थिए। सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ। पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ।