सोमबार, भदौ ३०, २०७६

गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्ने १ सय ३६ कम्पनीविरुद्ध मुद्दा

| तस्वीर:फाइल फोटो

काठमाडौं, चैत २२ : उपभोक्तालाई गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बिक्री गरेको आरोपमा १ सय ३६ उत्पादक कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साउनदेखि फागुन मसान्तसम्ममा १ सय ३६ कम्पनीविरुद्ध गुणस्तरहीन खानेकुरा बिक्री गरेको आरोपमा मुद्दा दायर गरेको हो। विभागले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन–२०७५ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ।

विभागले १ हजार ३ सय १ वटा नमूना संकलन गरेर परीक्षण गरेको थियो। जसमध्ये दोषी भेटिएका सञ्चालक तथा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ। चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा खाद्य÷दाना उद्योग रेष्टुरेन्ट, राजमार्गका होटल गरी १ हजार १ सय १२ पटक अनुगमन गरेको समेत विभागको दावी छ। आठ महिनाको अवधिमा २ हजार १ सय ८० पटक अनुगमन निरीक्षण गरेको विभागले जनाएको छ। 

त्यस्तै, आयात निर्यात निर्देशिका अनुसार खाद्यवस्तु आयात गर्नु पूर्व अनुमति लिनु पर्ने व्यवस्था छ। विभागले कागजात नमिलेका, मापदण्ड नपुगेका, आयात प्रतिबन्ध लागेका तथा लेबल नभएका विभिन्न ४४ ओटा खाद्यवस्तुको आयात अनुमति अस्वीकृत गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए। 
विभागले परीक्षण गरेकामध्ये तेल, बिस्कुट, गुलियो, क्यान्ड मिट, नुडल्स, क्यान्ड फिस, सस, फुड प्रिजर्भ, ललिपप गरी जम्मा १५ नमूना प्रतिकुल पाइएका कारण आयात रोक्का गरिएको विभागका प्रवक्त वस्तीले बताए।

विराटनगर, हेटौँडा, धनगढी, उदयपुर, काभ्रे, सुर्खेत, राजविराज, सर्लाही, दमौली, काठमाडौं, पोखरा, चितवन र बाग्लुङमा जम्मा दुई सय १२ होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरिएको विभागको दाबी छ। जसमा तीन वटाले अति उत्तम, २५ ओटाले उत्तम र ८० ओटाले सन्तोषजनक र १०४ ओटाले सामान्यस्तर प्राप्त गरेको विभागले जनाएको छ।

खानेपानीमा लापरबाही 

‘बोटलिङ’ गरी बिक्री हुँदै आएका दर्जनाैं कम्पनीको खानेपानीमा विशाक्त भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं लगायत विभिन्न जिल्लामा गरेको जाँचका क्रममा खानेपानी दुषित भेटिएको हो। 

विभागले पछिल्लो चार महिनामा मात्रै काठमाडौंसहित देशभरका जिल्लाहरुमा मापदण्ड पूरा नगरेरै कम्पनीहरु सञ्चालनमा रहेको पाइएको विभागले जनाएको छ। विभागले खानेपानीमा लापरबाही गर्ने न्यून गुणस्तर भएका खानेपानी कम्पनीहरुलाई मुद्दा समेत दर्ता गरेको छ। विभागले काठमाडौंमा मात्र पाँच वटा  पानी कम्पनीहरुलाई विशाक्त खानेपानी बिक्री गरेको आरोपमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। 

काठमाडौंमा विभागले गंगा खानेपानी उद्योग, गोकर्णेश्वर नगरपालिका–३ को माता सरस्वती खानेपानी, कागेश्वरी मनोहरा, काठमाडौं, श्री कृष्ण वेभरेज, गोरखा  वेभरेज प्रा.लि न्यून गुणस्तर र बोलबल पियोर ड्रिकिङ वाटर कम्पनीविरुद्ध गुणस्तरहीन पानी बिक्री गरेको आरोपमा मुद्दा दायर गरिएको छ। अत्यावश्यक खानेपानीमा कम्पनीहरुले लापरबाही गरेकाले कारबाहीको दायरामा ल्याएको प्रवक्ता वस्तीले बताए।

 Published Date: Friday, 5th April 17:00:41 PM