बिहीबार, साउन २, २०७६

काबेली करिडोर प्रसारण लाइन निर्माणमा ठेकेदारकै अवरोध, कुलमानले भने- कारबाही हुन्छ

| तस्वीर:फाइल

काठमाडौं, असार २६  : काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा पेटी ठेकदारले नै ‘नियोजित अवरोध’ गरेको पाइएको छ। 

आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिहरुले निर्माणमा पाँच दिनदेखि अवरोध गरेका हुन्। 

भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो। तर, भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन्। 

प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ। यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ।

लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२-३३-११ केभी सब–स्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा छन्। तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो। 

कोबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत आयोजनाका प्रवर्द्धकले प्रसारण लाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकेर जरिवाना तिर्नुपर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ’, उनले भने। 

‘बाहिर–बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिँदा विजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर, भित्र भने आफै पेटी ठेक्का लिएर पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने योभन्दा ठूलो अराजकता अरु के हुन्छ?’ उनले भने। उनले अराजकता निम्त्याउनेलाई कारबाही गर्ने चेतावनी पनि दिए।

पलाञ्चोक भगवती कन्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलप्मेन्टको आयोजना निर्देशक कुवेरमणी नेपालको कम्पनी हो। रैराङले पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९ दशमलव ९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। 

आयोजनाको विद्युत कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सब–स्टेशनमा जोडिने छ। प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति आरसिओडी अगामी साउन १ मा छ।

यसैगरी, अमरपुर सब–स्टेशनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना जोडिने छ।प्राधिकरणसँग पीपीए अनुसार आयोजनाको आरसिओडी गत ९ वैशाख हो। अरुण कावेलीको अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुन्। 

दुबै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैले काम लगाएका व्यक्तिहरुलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए। उनले समस्या समाधानका लागि पहल भइरहेको बताए।

पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो। झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ। प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो। 

कावेली करिडोर प्रसारण लाइन निर्माण करिव १० वर्षअघि सुरु गरिएको थियो। ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो। 

तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। 
 

 Published Date: Thursday, 11th July 20:07:00 PM