शुक्रबार, साउन ३०, २०७७

जोरपाटी–सुन्दरीजल सडक मंसिरसम्ममा बन्ने

| तस्वीर:फाइल फाेटाे

काठमाडौं, असार ३० : जोरपाटी–सुन्दरीजल सडक आगामी मंसिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो।

लामो समयदेखि तोकिएको मापदण्ड कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। सो सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्दा कतै १२ मिटर त कतै २० मिटरसम्म कायम हुने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए।

सरकारले केही समय पहिले मात्रै काठमाडौं उपत्यका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो। उनले भने, “सोही निर्णयका आधारमा कालोपत्र गर्न लागिएको हो।”

सडक विस्तारकै लागि आयोजनाले बन्दाबन्दी समयमा समेत आवश्यक तयारीको काम गरिरहेको थियो। यहाँ रहेका ६७ रुख हटाइएको आयोजनाले जनाएको छ। अत्तरखेलमा रहेका झण्डै १५० घर हटाउन नसकिने हुनाले त्यस क्षेत्रमा सडकको चौडाइ कम हुने आयोजना प्रमुख अधिकारीले बताए। उनले भने, “जुन ठाउँमा जति उपलब्ध छ त्यति गर्दा कतै बढी र कतै कम हुने देखिन्छ।” विस्तारका क्रममा रहेको सडकमा मर्मतसमेत नहुँदा स्थानीयले हैरानी भोग्दै आएका थिए। सडकमा खाल्डोका कारण वर्षाको समयमा आवतजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन्।

 Published Date: Tuesday, 14th July 15:30:45 PM