बुधबार, मंसिर २५, २०७६

पार्टी स्कुल विभाग विवाद आज पनि टुङ्गिदैन : झलनाथ खनाल

नेकपा सचिवालय बैठक | तस्वीर:फाइल फोटो

काठमाडौं, साउन २९ : नेकपाको आज अपरान्ह ३ बजे बस्ने केन्द्रीय सचिवालय बैठकले पनि पार्टी स्कुल विभागको विवाद टुंगो लगाउन नसक्ने भएको छ। एमाले पूर्वअध्यक्ष समेत रहेका पार्टी वरिष्ठ नेता झलनाथ खनालले आज पनि पार्टी स्कुल विभागको विवाद हल नहुने बताए।

वरिष्ठ नेता खनालले काठमाडौंप्रेससँग भने, ‘आज ३ बजे सचिवालय बैठक बस्छ। पार्टी स्कुल विभागको विवाद आज टुङ्गिदैन।’ 

‘यो विवादको निकास कसरी निस्केला त?’ खनालको जवाफ थियो, ‘त्यो त निस्केपछि थाहा पाइहाल्नुहुन्छ नि!’ 

पार्टी स्कुल विभागमा साविक एमालेका महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् । पोखरेललाई कुनै पनि हालतमा दिन नहुने, बरु विकल्प आएमा सोच्न सकिने अडान साविक माओवादी पक्षबाट दाबी आएपछि प्रधानमन्त्री ओलीमाथि पनि माओवादीलाई नदिन साविक एमाले पक्षबाट अडान राखिएको छ। 

वरिष्ठ नेता झलनाथ खनालले स्कुल विभाग प्रमुखको जिम्मा आफूलाई दिएमा स्वागत गर्ने बताइसकेका छन् । त्यसबाहेक साविक एमालेका उपमहासचिव एवम् नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि उक्त पदमा दाबी गरेका छन् । उनको पक्षमा पार्टीभित्रै र बाहिर पनि समर्थन देखिएको छ।

अर्का नेता बेदुराम भुसालले पनि स्कुल विभागमा दाबी गरेका छन् । आजको बैठकले उक्त विवाद टुंग्याउन नसक्ने वरिष्ठ नेता खनालले बताए। 

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था र सिङ्गापुरमा भएको १० दिने उपचारका बारेमा जानकारी दिनेछन्। ओली साउन १८ देखि १० दिनसम्म सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर सोमबार मात्र नेपाल फर्केका हुन्। 

बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपरिवार गरेको पाँचदिने दुवई भ्रमणबारे पनि ‘ब्रिफिङ’ हुनेछ। 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र उपचारबारे दैनिक जानकारी उपलब्ध नगराएकोबारे जनस्तरमा व्यापक असन्तुष्टि छ। 

त्यस्तै, बिरामी पत्नी सीताको इच्छा पूरा गर्न भनेर गरिएको प्रचण्डको पारिवारिक यात्राबारे विभिन्न आशंकासहित प्रश्नहरू उठेका छन् । कतिपय सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै प्रचण्डका स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ ले हिजो मंगलबार एक विज्ञप्ति जारी गरेका छन्।

स्वकीय सचिव ‘प्रताप’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ।’ 

विज्ञप्तिमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं । यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।’

 Published Date: Wednesday, 14th August 12:26:47 PM