बुधबार, मंसिर २५, २०७६

ज्ञानेन्द्रलाई मैले भेटेको पुष्टि गर, नत्र माफी माग: उपप्रधानमन्त्री पोखरेल 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल  नेपाल ट्रष्टको सम्पत्ति निरीक्षण गर्दै | तस्वीर:उपप्रधानमन्त्रीकाे निजी सचिवालय

काठमाडौं, साउन २४ः उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट नगरेको प्रष्ट पारेका छन्।

केही दिनअघि आफ्ना सहयोगी लोकेन्द्र केसीमार्फत् फेसबुकमा लेखेर फोटो समेत सार्वजनिक गरेका उपप्रधानमन्त्री पोखरेलले आफैँ ट्वीट गरेर राजा भेटेको पुष्टि गर्न चुनौती दिएका हुन्।

पोखरेलले ट्वीटरमा कडा भाषामा लेखे, ‘निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षड्यन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू, अनलाइनहरू तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरूप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर, नभए नैतिकता छ भने क्षमायाचना गर!’

याे पनि : पूर्वराजाबारे बालुवाटार-खुमलटारबीच आशंका र अविश्वास

पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर भ्रमणमा जानुभन्दा अघिल्लो दिन रक्षामन्त्री ईश्वर पोखरेलको निजी सचिवालयले पूर्वराजा नभेटेको जनाएको थियो।

उनका निजी सचिवालयमा कार्यरत लोकेन्द्र केसीले सामाजिक सञ्जाल (फेसबुक) मा नेपाल ट्रष्टको सम्पत्ति निरीक्षण गर्न गएको फोटो सार्वजनिक गर्दै साउन २० गते लेखेका थिए, ‘नेपाल ट्रस्ट अन्तर्गतको स्व. राजा वीरेन्द्रको नाममा रहेको सम्पत्तिको स्थलगत निरीक्षण गर्न ट्रस्टका अध्यक्ष समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल गत शुक्रबार महाराजगञ्ज (निर्मल निवासको पश्चिमपट्टि सशस्त्र प्रहरी बसेको क्षेत्र), लाजिम्पाट, टेकु, सोल्टीमोड र छाउनी पुग्नुभएको सत्य हो ! तर, मनगढ़न्ते कहानी लेख्न चाहनेका लागि जे लेख्दा पनि हुन्छ ? यथार्थ हुनुपर्छ कि पर्दैन?’ 

नेपाल ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञवालीले समेत ज्ञानेन्द्रको निजी निवास, निर्मलनिवास नजिकको ट्रष्टको सम्पत्ति रहेको क्षेत्रमा रक्षामन्त्रीको भ्रमणबारे प्रष्ट्याइसकेका थिए। 

नेकपाभित्रको साविक माओवादी धारले पोखरेलले पूर्वराजा ज्ञानेन्द्र भेटेको विश्वास गर्दै यसप्रति कडा प्रतिवादमा उत्रेका थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त पूर्वराजा ज्ञानेन्द्रलाई विगतमा गणतन्त्र स्वीकारेकाले शरण दिएको बताउँदै अब चलखेल गर्न खोजेमा नागार्जुन दरबारबाट निकाल्ने धम्की समेत दिएका थिए।

 

 

 Published Date: Friday, 9th August 13:17:52 PM