सोमबार, भदौ ३०, २०७६

इन्द्रजात्रा : के, कहाँ, कहिले?

कुमारी रथयात्रा। फाइल तस्वीरः  तेजनारायण महर्जन

काठमाडौं, भदौ २५ : सोमबार बिहान ९ : १७ को साइतमा काठमाडौं हनुमानढोका परिसरमा यःसिं (लिङ्गो) ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको छ। आठ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य जात्रा भने भाद्रशुक्ल चतुदर्शी, पूर्णिमा र आश्विनकृष्ण द्वितीयाको दिनमा हुन्छ। यी तीनै दिन जीवित देवी कुमारीसहित गणेश र भैरवको रथ यात्रा हुन्छ। 

इन्द्रजात्रामा अन्य धेरै आकर्षक जात्रा हुन्छन्। इन्द्रजात्राको दिन कुमारी रथजात्रा सकिनासाथ दागीं, बौमत निकालिन्छ। इन्द्रजात्राको आठै दिन लाखे, पुलिकिसी, सवभक्कु, महाकाली नाच, देवी नाच, दशअवतार आदि निस्किन्छन्। त्यस्तै, हनुमानढोकास्थित स्वैत भैरवमा ‘हाथु हायेकेगु’ भनेर भैरवको मुखबाट प्रशादको रुपमा जाँड खसालिन्छ भने इन्द्रचोकस्थित आकाश भैरव, वटुको वाकादे भैरवलाई मन्दिरबाहिर निकाली आकर्षक रुपमा प्रदर्शन गरिन्छ। 

इन्द्रजात्राको मुख्य आकर्षण रहेको कुमारी, गणेश र भैरवको रथयात्रा यस वर्ष शुक्रबारबाट सुरु हुँदैछ। शुक्रबार ‘क्वःनेयाः’ भनेर नगरको तल्लो भागमा रथ तानिन्छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार इन्द्रजात्राको दिन दिउँसो ४ बजे बसन्तपुरबाट रथ यात्रा सुरु हुन्छ।

बसन्तपुर कुमारी घर अगाडी रहेको रथमा कुमारी, गणेश र भैरवलाई विराजमान गराइसकेपछि बसन्तपुरबाट मरु, चिकंमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थानबाट मरुटोल हुँदै फेरि बसन्तपुरमा नै पु¥याइ रथ यात्रा समापन गरिन्छ।

यो दिन कुमारीको रथ यात्रा हुँदा राष्ट्र प्रमुख लगायत अन्य गन्यमान्य व्यक्तिहरु बसन्तपुरको गद्दी बैठकमा आएर कुमारीको दर्शन गर्ने चलन रहँदै आएको छ। काठमाडौं महानगरपालिकाले यस वर्ष विभिन्न देशका पाँच जना मेयरसहित ४७ देशका पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न आउने जनाएको छ।

 इन्द्रचोकको आकाश भैरव

कुमारीको रथ यात्रा सकिनासाथ मरुस्थित छ्वासपाखाबाट दागीं निस्किन्छ। दागींंलाई इन्द्रको आमाको रुपमा मानिँदै आएको छ। यस वर्ष बितेका आफन्तको सम्झनामा उनलाई दागबत्ती दिने र छोराछोरीहरु दागींसँगै कुमारी रथ यात्रा हुने माथिल्लो र तल्लो दुवै नगरमा घुम्छन्। 

मरुबाट सुरु भएको दागीं यात्रा थःने (माथिल्लो भाग) तर्फ अगाडि बढ्छन्। मरुबाट प्याफल, यट्खा, नरदेवी, टेंगल, बाङ्गेमुढा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका, बसन्तपुर, मरु हुँदै क्वःने तर्फ लाग्छन् । थःने तर्फ नगर परिक्रमा गरी आएको दागीं मरुटोलमा पुग्नासाथ काष्ठमण्डपको पश्चिमतर्फ बनाइराखेको बौमतले परिक्रमा सुरु गर्दछ। बौमत पनि थःने–क्वःने (माथिल्ला र तल्लो नगर) कुमारीको रथ परिक्रमा गर्ने रुटमै परिक्रमा गराइन्छ। बौमतलाई दागीं गएको कोही छुटेको छ कि भनी बत्ती बालेर बाटोमा हेर्दै गएको पनि भनिन्छ। त्यसैले बाँसको भाटाले नाग (सर्प) जस्तै लामो बौमत बनाइन्छ र त्यसमा दियो बाल्दै लगिन्छ। 

इन्द्रजात्राको भोलिपल्ट ‘येँयाः पुन्हि’ मनाइन्छ। बसन्तपुरबाट दिउँसो ४ बजे ‘थःने याः’ भनेर रथलाई तानेर माथिल्लो नगरको परिक्रमा गराइन्छ। यो दिन उपत्यकाभर घरघरबाट समय्बजि बाँड्ने चलन पनि रहेको छ। येँयाः पुन्हीको पर्सिपल्ट ‘नानीचा याः’ भनेर माथिल्ला नगरको बीच भागमा रथ जात्रा गरिन्छ।

 हनुमानढोकाका श्वेतभैरव

यो दिन दिउँसो ३ बजे रथ तानिने समितिले बताएको छ। रथलाई बसन्तपुरबाट माथिल्लो भागमा तानी नरदेवीबाट किलागल, इन्द्रचोक, हनुमानढोका हुँदै बसन्तपुरमा पुर्‍याइन्छ। नानीचायाःको दिन रथलाई महिलाहरूले मात्र तान्ने गर्दै आएका छन्। यसपाली पनि महिलाहरूले मात्रै रथ तान्ने इन्द्रजात्रा व्यवस्थापन समितिका महिला समूहका संयोजक नानीहेरा महर्जनले बताइन्। 

इन्द्रजात्राको अर्को आकर्षण रहेको लाखे, पुलुकिसी, सवभक्कु भने यःसिं उठाइने भाद्रशुक्ल द्वादशीको दिनबाटै निस्कने सुरु हुन्छ। लाखे मजिपातस्थित लाखेछेँबाट निस्कन्छन् भने पुलुकिसी किलागलबाट निस्किन्छ। हलचोकको आकाश भैरवलाई सवभक्कु भनिन्छ। आकाश भैरवको मन्दिर र द्यःछेँ (देउता घर) हल्चोकमै रहेको छ। दिनदिनै हल्चोकबाट ल्याउन गाह्रो हुने भएकाले सवभक्कु इन्द्रजात्राको आठै दिन काठमाडौं नरदेवीबाट निकालिन्छ। लाखे, पुलुकिसी, सवभक्कु रथयात्राको बेला रथ अघि–अघि हिँडेको हुन्छन् भने अन्य बेला विभिन्न ठाउँमा गएर पूजा लिने गरिन्छ। 

इन्द्रजात्राको आठै दिन बसन्तपुर कुमारी घर अगाडि रहेको मन्दिरमा बेलुका दशअवतार प्रदर्शन गरिन्छ। त्यस्तै, हनुमानढोका अगाडि रहेको श्वैत भैरवमा साँझ ‘हाथु हायेकेगु’ गरिन्छ। इन्द्रचोकको आकाश भैरवलाई मन्दिर बाहिर ल्याइ फुलैफुलले सजाइ राखिन्छ। कुमारी रथ यात्राको क्रममा कुमारीको रथ यहाँ पुगेपछि यहाँ पनि ‘हाथु हायेकेगु’ गरेरे समयबजी बाँडिन्छ। इन्द्रजात्राको पहिलो दिन यःसिं ठड्याइने दिन दिवंगत आफ्ना परिवारको नाममा ‘उपाकु वनेगु’ भनेर उपाकु रुटमा बाटोभर दियो बत्ती दिँदै जान्छन्।

त्यस्तै, जात्राको आठै दिन भक्तपुर, मध्यपुर ठिमीबाट आउने महाकाली नाचको टोलीले हनुमानढोकामा नाच देखाउँछन्। त्यस्तै, अरु निमन्त्रणा दिएको ठाउँमा गएर पनि नाच देखाउने परम्परा पनि रहँदै आएको छ। किलागलको देवी नाच रथयात्राको बेलामा थःने, क्वःने रहेको विभिन्न डबलीमा देखाइन्छ। इन्द्रजात्राको दिन जैसीदेवलस्थित डबलीमा नाच देखाइन्छ भने येँयाः पुन्हीको दिन बाङ्गेमुढास्थित डबलीमा नाच देखाइन्छ। त्यस्तै, नानीचायाःको दिन किलागलको डबलीमा देखाइन्छ।

इन्द्रजात्राको बेला काठमाडौंको भित्री नगरभित्र विभिन्न ठाउँमा यमांद्यः भनेर इन्द्रको साथै भैरवका मूर्ति निकाली राखिने चलन पनि रहेको छ। काठमाडौं मरुटोलमा इन्द्रलाई बाँधी राखेको मूर्ति निकालिन्छ। स्वर्गका राजा इन्द्र आफ्नी आमाको लागि पूजा गर्न काठमाडौंमा ‘पालिजास्वां’ फूल चोर्न आउँदा स्थानीय समातेपछि बाँधेर राखेको प्रतीकको रुपमा इन्द्रजात्राको बेला मरुटोलमा यो मूर्ति निकाल्दै आइराखिएको छ।

लाखे

इन्द्रजात्राको अवसरमा ललितपुर र भक्तपुरमा पनि विभिन्न जात्रा हुन्छ। भाद्रशुक्ल त्रियोदशीको दिन ललितपुरको च्यासलमा ‘झ्यालिचा क्यनेगु’ भनेर पर्दामा छायाँ चित्र जस्तै देखाइन्छ। 

भक्तपुरमा पनि विभिन्न ठाउँमा यमांद्यः भनेर इन्द्रको मूर्ति निकालिन्छ। भक्तपुरको सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमना गरी २१ टोलमा २१ वटा नै यमांद्यः उठाउने गरिन्छ। स्थानीय टोलवासी मिली यःसिं जस्तै सानो आकारको करिब २० हात लामो यमांद्यः ठड्याउने गरिन्छ। यहाँ पनि पुलुकिसी निकाल्ने चलन रहेको छ। इन्द्रजात्राको अन्तिम दिन आश्विन कृष्ण द्वितीयाको दिन भक्तपुरको बुलुचाबाट पुलुकिसी निकालिन्छ। यो पुलुकिसीलाई इन्द्रको बाहन ऐरावत हात्ती मानिन्छ। 

अन्तिम दिन हनुमानढोकामा ठड्याइएको ‘यःसिं’लाई ढाली जात्राको समापन गरिन्छ। यःसिं ढालेपछि यसलाई तानेर टेकु दोभानमा पुर्‍याइन्छ। यस वर्ष यसिं ढाल्ने साइत असोज १ गते ५ः३५ मा रहेको छ। 

 

 Published Date: Wednesday, 11th September 17:21:56 PM