मंगलबार, असार ३, २०७६

भारतले पुनर्निर्माणका लागि दियो एक अर्ब ६० करोड रुपैयाँ

भारतले दिएकाे एक अर्ब ६० करोड रुपैयाँ चेक।

काठमाडौ, जेठ २७ : भारत सरकारले भूकम्पपछिको निजी आवास पुनर्निर्माणका लागि एक अर्ब ६० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

भारत सरकारले गोरखा र नुवाकोटको निजी आवास पुनर्निर्माणका लागि आज बिहान सहयोग उपलव्ध गराएको हो।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा.युवराज खतिवडालाई एक अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

यो भारतले भूकम्पपश्चात घोषणा गरेको सहयोगको एक हिस्सा हो। भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो।

यसअघि सन् २०१८ मा भारतले पुनर्निर्माणको लागि दुई अर्बभन्दा बढी आर्थिक सहयोग गरिसकेको छ।

 

 Published Date: Monday, 10th June 12:40:38 PM