आइफा अवार्डबारे कलाकारकाे व्यङ्ग्य : मजाक गर्नु हुन्छ पाण्डेजी!

काठमाडौं, असार १७ : इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) काठमाडौं आयोजना गर्न सरकारले स्वीकृति दिने निर्णय गरेसँगै विवाद सुरू भएको छ। सबै क्षेत्रबाट यसको विरोध हुन थालेको छ।

मन्त्रिपरिषदको बैठकले काठमाडौंमा आइफा समारोह गर्न स्वीकृति दिने निर्णय गरेको थियो। नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनका लागि ‘आइफा अवार्ड–२०१९’ ले सहयोग पुग्ने जनाएको थियो। अवार्ड वितरणका कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डले गर्ने र त्यसको सहआयोजक काठमाडौं महानगरपालिका रहनेछ जनाएको छ। यसमा उद्योग वाणिज्य महासंघ, सिएनआईको सहयोग र सहकार्य रहनेछ।

अवार्डमा ६० भन्दाबढी भारतीय कलाकार र ६ सयभन्दा बढी प्रतिनिधि सहभागी रहने छन्। यसका लागि नेपालले कम्तिमा एक अर्ब खर्च गर्ने र त्यसबाहेक करिब ४५ करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले आईफालाई नगद दिने समाचार आएका छन्।

तर, नेपालीको करबाट उठाएको रकम विदेशी कार्यक्रम र कलाकारका लागि खर्च गर्नु नहुने भन्दै विरोध हुन थालेको छ। सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहस चलेको छ। सरकारले सहयोग नगर्दा तीन वर्षदेखि ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण हुन सकेको छैन। २०७३ देखि २०७५ सम्मको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकै पटक वितरण गरिँदै छ।

आइफाको तयारी तीन महिनादेखि नै भइरहेको थियो। तर, विरोध हुने भएकाले अहिले मात्रै सार्वजनिक गरिएको जनाएको छ।

यसरी आफ्नै देशको राष्ट्रिय चलचित्र महोत्सव हुन नसकिराखेको अवस्थामा विदेशी अवार्डलाई सहयोग गर्न खोजेको विषयमा कलाकारले पनि विरोध जनाएका छन्।

मजाक गर्नुहुन्छ पान्डेजी : दीपकराज गिरी

कलाकार दीपकराज गिरी हरेक विषयमा सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्छन्। आइफा अवार्डबारे प्रधानमन्त्रीलाई व्यंग्य गर्दै लेखेका छन्, ‘सलमान खान र कपिल शर्मालाई त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो अब त झन् पूरै बलिउड ल्याउने रे! मजाक गर्नु हुन्छ पान्डेजी...।’

श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, छिमेकीलाई ट्याक्सीः केदार घिमिरे

हास्य कलाकार केदार घिमिरे पनि आइफाको विपक्षमा उभिएका छन्।  उनले आइफामा नेपाल सरकारले करोडाैं लगानी गर्ने भन्ने विषयलाई आफ्नै शैलीमा व्यंग्य गरेका छन्।

घिमिरेले लेखेका छन्, ‘श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो !!!’

आइफाले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँछ: रविन्द्र खड्का

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आइफा अवार्डले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताए।

‘नेपालमा विदेशी व्यक्तिहरुको चहलपहल हुनु राम्रो कुरा हो। साथै यसले नेपाली र बलिउड कलाकारबीच जमघट हुन्छ। मित्रता गाढा हुन्छ र के कस्तो काम भइरहेको छ त भन्ने मेसो पाउँछौं,’ उनले भने।

आइफा अवार्डबारे थप बहस गराैं : केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले आइफा अवार्डका विषयमा बहस गर्नु पर्ने तर्क गरेकी छन्। उनले यसबाट पर्यटन प्रवर्द्धन हुने तर्क गरेकी छन्। उनले भनिन्, ‘यसलाई नेपालमा गर्दा पर्यटन प्रवर्द्धन त हुन्छ नै। विश्वमा छरिएर बसेका भारतीयलाई मात्रै पनि अवार्डमार्फत हाम्रो देश चिनाउन सक्यौं भने त्यो फाइदा नै हुन्छ।’

यसका लागि नेपालले लगानी गर्ने विषयमा भने उनको फरक मत छ। ‘नेपालले पनि लगानी गर्ने विषयमा सोच्नु पर्छ। हामी कति धेरै आधारभूत आवश्यकताबाटै बञ्चित छौं। त्यसैले गर्दा यो काम गर्ने की नगर्ने भन्ने सोच्नै पर्छ,’ अधिकारीले भनिन्, ‘यस कारण म यो विषयमा कम्पिलट नेगेटिभ पनि छैन र पोजेटिभ पनि छैन।’

 Published Date: Monday, 1st July 2019 4:02:58 pm