मंगलबार, भदौ ३, २०७६

ह्वासिङ सिमेण्टले गरेको जग्गाभाडा सम्झौता रद्द गर्न संसदीय समितिकाे निर्देशन 

ह्वासिङ सिमेण्ट उद्याेग | तस्वीर:फाइल फोटो

काठमाडौं, साउन २६ : संघीय संसद्को सार्वजनिक लेखा समितिले ह्वासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौतालाई गैरकानुनी ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । 
धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सो कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन सम्झौता गरेको थियो । 

समितिका सचिव डा. रोजनाथ पाण्डेले चिनिया लगानीमा निर्माणाधिन सो सिमेन्ट कम्पनीले स्थानीय गाउँपालिकासँग जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको भेटिएपछि रद्द गर्न निर्देशन दिइएको जानकारी दिए । सो सिमेन्ट उद्योगको विवाद समाधानका लागि समितिले गठन गरेको सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले पेश गरेको स्थलगत अध्ययन प्रतिवेदनलाई आधार बनाएर समितिले स्थानीय तहसँग सो सिमेन्ट कम्पनीले गरेको जग्गाको सम्झौता खारेज निर्देशन दिएको छ ।

समितिले सो उद्योगका लागि सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकले सो सिमेन्ट कम्पनीलाई स्थानीय जनतालाई जग्गाको मुआब्जा दिएर मात्रै विद्युत प्रसारण लाइनको व्यवस्था गर्न पनि निर्देश गरेको छ ।

१४ अर्ब ४० करोड रुपैयाँ बराबर चिनीयाँ लगानीमा निर्माण भइरहेको सो सिमेन्ट कम्पनीले स्थानीयको गुनासोलाई बेवास्ता गर्दै सडक निर्माण र विद्युत प्रशारण लाइनको काम अघि बढाएको आरोप छ ।

बैठकमा उद्योग सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सो सिमेन्ट कम्पनीलाई सर्त अनुसार काम नगरे कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरे । 

उद्योग सचिव खतिवडाले सो सिमेन्ट कम्पनीले उद्योग दर्ताको सर्त अनुसार काम गरे÷नगरेको कडा निगरानी राख्ने प्रतिवद्धता व्यक्त गरिन् । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले स्थानीय जनताको गुनासोलाई सम्बोधन नगरी सो सिमेन्ट कम्पनीले काम गरेको पाइए कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरे । लगानी बोर्ड ऐन अनुसार नेपालमा सहज, सुलभ र गुणस्तरीय  सिमेन्ट उत्पादन गरी निर्यात गर्ने गरी सो सिमेन्ट उद्योग स्थापना गर्न सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको हो ।

 Published Date: Sunday, 11th August 17:48:31 PM