बुधबार, मंसिर २५, २०७६

हङकङ बढ्दै जनप्रदर्शन, विश्वकै व्यस्त मानिने विमानस्थल पनि बन्द

हङकङमा नाटकीय रूपले जनप्रदर्शन बढेसँगै विश्वकै व्यस्त विमानस्थल पनि बन्द भएको छ। हङकङमा दशकौं यता भएको यो सबैभन्दा ठूलो राजनीतिक सङ्कट हो।

विमानस्थलमा निरन्तर चार दिनदेखि जारी विरोध प्रदर्शनका कारण सम्पूर्ण उडान रद्द गरिएका हुन्। बेइजिङको धम्कीपूर्ण वक्तव्यहरू पनि रोकिएका छन्। शहरमा “आतंकवाद” उदाउँदै गरेको एक चिनियाँ अधिकारीले बताएका छन्। उता भीड नियन्त्रण गर्न हङकङका अधिकारीले “वाटर क्यानोन” पनि प्रयोग गरेका छन्।

हङकङमा विरोध प्रदर्शन भएको दशौं हप्ता पुगेको छ। प्रदर्शनकारी र प्रहरीको मुठभेठ हिंसात्मक बन्दै गएको छ। प्रहरीले अत्यधिक बल प्रयोग गरेको अधिकारवादी समूह र लोकतन्त्रका अभियन्ताहरूले आरोप लगाउँदै आएका छन्। आइतबारको झडपपछि कम्तिमा पनि ४० जनाको अस्पतालमा उपचार भएको छ। तीमध्ये एक महिला “बिनब्याग” आक्रमणमा परेकी छिन्। उनको एउटा आँखा गुम्ने जोखिम छ।

कालो टिसर्ट र अनुहारमा मास्क लगाएका प्रदर्शनकारी विमानस्थलमा भरिएका थिए। उनीहरूले कथित प्रहरी हिंसाबारे जानकारी भएको सूची आगन्तुकलाई बाँडेका थिए। त्यससँगै घाइते प्रदर्शनकारीको तस्वीर पनि प्रदर्शन गरेका थिए। केहीले ती घाइते महिलाप्रति ऐक्यबद्धता जनाउँदै आँखामा “आइ प्याच” लगाएका थिए।

अरूले पोस्टर बोकेका थिए। जसमा लेखिएको थियो   “हङकङ सुरक्षित छैन”,“प्रहरीलाई लाज लाग्नुपर्छ” । उनीहरूले “हङकङको साथमा उभियौं, स्वतन्त्रताका लागि सङ्घर्ष गरौं” भन्ने नारा पनि लगाए।

“प्रहरीको यस्तो क्रुरता मानिसहरूले कसरी सहन सकेका हुन्, मैले बुझ्न सकिनँ। मलाई लाग्छ, म अहिलेबाहिर आइनँ भने कहिले पनि आउन सक्नेछैन,” हिलारी लोले भनिन्।  प्रदर्शनमा सहभागी हुन उनले कार्यालयबाट आधा दिनको बिरामी विदा लिएकी थिइन्।

“विशेषगरी गएको दुई सातामा जे भयो त्यसबाट प्रहरी नियन्त्रणभन्दा बाहिर गइसकेको मानिसहरूले बुझ्न थालेका छन्,” उनले भनिन्।

प्रदर्शन अवधिभर पर्यटकहरू विमानस्थलमै बसे। मंगलबार बिहान ६ बजे उडान सुरू हुने अपेक्षा गरिएको थियो। नाइजेरियाका एलोडिचुक्वु ओबियाजेलीले पाँच घण्टादेखि विमानस्थलमा अड्किएको बताइन्। “हाम्रो एयरलाइनबारे हामीलाई कुनै जानकारी थिएन। हामी यहाँ फसेका छौं  पैसा पनि छैन,” उनले भनिन्। विमानस्थलका सबै पसल पनि बन्द भएको उनले बताइन्।

साँझसम्म भीड केही पातलिएको थियो। विमानस्थलबाट भीड हटाउन प्रहरी खटिने जानकारी पनि आयो। तर प्रहरी नआएपछि हजारौं प्रदर्शनकारी फेरि फर्किए। राति बस्नलाई पनि उनीहरूले प्रबन्ध मिलाएका थिए। आवश्यक सामग्री साथै ल्याएका थिए।

“साँच्चै भन्नुपर्दा केही होलाजस्तो लागेको छैन,” एन्डी चुले भने। उनी पनि विमानस्थलमा आएका प्रदर्शनकारीमध्ये एक थिए। “मेरो विचारमा प्रहरीले हालसम्म हामीलाई गलाउन रणनीति मात्रै लिएका हुन्। हामीलाई यहाँ बस्न दिएर उनीहरू प्रतिक्षा गरिरहेका छन्।  

केही घण्टाअघि हामीलाई बाहिर निकाल्न प्रहरी अश्रु ग्याँस लिएर आउँदैछन् भन्ने हल्ला थियो,” उनले भने,“मेरो विचारमा त्यो पनि प्रहरीकै चाल हो। शान्तिपूर्वक विरोध गर्नेहरू आफैं घर जाऊन् भन्ने चाहन्छन्।”

हङकङको विरोध प्रदर्शनले चीनका नेता सी जिन फिङसामू एउटा ठूलो चुनौती उभ्याएको छ। उनी सन् २०१२ मा शक्तिमा आएका हुन्। हङकङ एन्ड मकाउ अफेयर्स अफिस अफ द स्टेट काउन्सिलका एक अधिकारी याङ ग्वाङले प्रदर्शनकारी व्यवस्थापन गर्न दया नदेखाउन सम्बन्धित निकायलाई भनेका छन्।

“हङकङका अतिवादी प्रदर्शनकारीले प्रहरी अधिकारीलाई आक्रमण गर्न अत्यधिक खतरनाक औजार बारम्बार प्रयोग गरेका छन्। यो गम्भीर हिंसात्मक अपराध हो र उदाउँदो आतंकवादको सङ्केत पनि,” याङले एउटा प्रेस ब्रिफिङमा भने,“यसले हङकङको विधिको शासन र सामाजिक व्यवस्थामा खलल पुर्‍याउने छ।”

हङकङ प्रहरीले विधायक र पत्रकारलाई बोलाएर “वाटर क्यानोन”को प्रदर्शन पनि गरेका छन्। सन् २०१४ मा प्रहरीले दुई वटा वाटर गन किने पनि कहिले प्रयोग गरेको थिएन। तर सोमबार प्रशिक्षण केन्द्रमा एउटा प्रयोग गरी देखाइएको थियो। एम्नेस्टी इन्टरनेसनलको हङकङ डिभिजनका निर्देशक मान केइ तामले प्रहरी र प्रदर्शनकारीको झडप अर्को स्तरमा उक्लिएको बताएका छन्। सप्ताहन्तमा विशेष गरी प्रहरीले बल प्रयोग गरेको उनको ठहर छ।

तामले आइतबार राति क्वाइ फोङको एउटा सबवे-स्टेशनमा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको घटना उद्धृत गरे। स्टेशनमा कति मानिस उपस्थित थिए यकिन नभए पनि त्यसभित्र प्रहरीले अश्रु ग्याँस प्रहार गर्ने गरेको थिएन। अर्को सबवे-स्टेशनमा एस्कलेटरबाट भाग्दै गरेका प्रदर्शनकारीलाई प्रहरीले गैर घातक गोली प्रहार गरेको एउटा भिडियो पनि उनले देखाए।

प्रहरीले अधिकारीहरू पनि घाइते भएको जनाएको छ। लेजर प्वोइन्टर र पेट्रोल बमका कारण आँखामा समस्या आएको प्रहरीले जनाएको छ।

सिभिल राइट्स अब्जर्भरले प्रहरीको हिंसा चिन्ताजनक भएको बताएको छ। समूहले प्रदर्शन भइरहेका स्थानमा पर्यवेक्षक खटाउने गर्दछ। संस्थाका प्रवक्ता इकारस वोङ हो यिनका अनुसार प्रहरीले निर्देशिका उल्लङ्घन गरेको प्रमाण प्रष्ट भेटिएका छन्।

सप्ताहन्तमा भएका विरोध प्रदर्शनमा हङकङ फ्रि प्रेसको वेबसाइटमा प्रदर्शनकारीको भेषमा आएका प्रहरीले एक जना प्रदर्शनकारीलाई भुइँमा थिचेर नियन्त्रणमा लिएको भिडियो राखिएको थियो। आफूलाई चाउ का लोक बताउने ती युवाले वकिलको माग गरेका थिए। उनको टाउकोमा चोट लाग्नुका साथै एउटा दाँत पनि भाँच्चिएको थियो।

सुपुर्दगी विधेयकको विरोधमा जुन महिनाको सुरूदेखि हङकङमा विरोध प्रदर्शन सुरू भएको हो। विधेयक अनुसार अपराधको अभियोगमा हङकङवासीलाई चीनको अदालत प्रस्तुत गर्ने व्यवस्था प्रस्ताव गरिएको थियो। हङकङ सन् १९९७ मा बेलायतको उपनिवेशबाट चिनियाँ शासनमा हस्तान्तरण भएको हो।

हस्तान्तरणको समयमा बेग्लै कानूनी प्रणाली लगायत ५० वर्षको अर्धस्वायत्तता वाचा गरिएको थियो। हाल स्थगित उक्त सुपुर्दगी विधेयकले एसियाको आर्थिक केन्द्रमा नागरिक र राजनीतिक अधिकार खुम्चिने धेरैको डर छ।
 

 Published Date: Wednesday, 14th August 06:59:04 AM