आईतबार, फागुन ११, २०७६

वातावरणीय समस्या समाधान गर्न युवालाई सहयोग

काठमाडौं, माघ ५ : वातावरणीय समस्या समाधान गर्न हिमालयन क्लाइमेट इनिसियटिभले युवालाई सहयोग गरेको छ।

खानेपानी तथा प्लास्टिक प्रदुषणको समस्या समाधानमा काम गर्न १० जना युवालाई सहयोग गरेको हो। उनीहरूलाई ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म पुरस्कार स्वरुप प्रदान गरिएको हिमालयन क्लाइमेट इनिसियटिभकी प्रमुख कार्यकारी अधिकृत शिलशिला आचार्यले बताइन्।

यसका लागि हिमालयनलाई नेदरल्यान्डको डोपर संस्थाले सघाएको हो। डोपर चेन्जमेकर च्यालेन्जमार्फत उनीहरुलाई सहयोग गरिएको आचार्यले जानकारी दिइन्।

यस कार्यक्रममा सहभागी दश उत्कृष्ट युवाले आ–आफ्नो कार्यक्रम प्रस्तुत गरेका थिए। जसमा प्लाष्टिकको प्रयोग गरी बाटो पिच गर्न, घरमा प्रयोग हुने ईटा बनाउन, आलु, चामल, जुट, खरजस्ता प्राकृतिक कच्चापदार्थबाट प्लाष्टिकका कुहिने विकल्पसाथै प्लाष्टिकको मात्रा कमभ एका सामानहरु बनाउन सकिने योजना रहेका छन्।

त्यस्तै, पानीको समस्या कम गर्न समुदायमा जमिनमूनि पानीको पुनःभरण गरी बाढीको समस्या कम गर्ने, तामा, चाँदीजस्ता धातुको प्रयोग गरी सस्तो रुपमा पानीलाई किटाणुमुक्त बनाउने फिल्टर बनाउने, प्रयोग भइसकेको पानीलाई घरमै पुनःप्रशोधन गर्ने, भाईरसको प्रयोग गरी खोलानालाहरुबाट रोग फैलाउने किटाणु मार्ने लगाएतका विधि रहेका छन्।

कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्ववप्रसाद खरेलले युवाको नेपालमै बसी यहाँका समस्याहरु समाधान गर्छु भन्ने अठोट र उनीहरुले ल्याएका नयाँ समाधान देखेर निकै प्रभावित भएको बताए। यसमा सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए।

 

 Published Date: Sunday, 19th January 13:01:41 PM