सोमबार, मंसिर ३०, २०७६

साउदीकाे रियाद उडान गर्ने हिमालय एयरलाइन्सको तयारी

हिमालय एयरलाइन्स। | तस्वीर:फाइल फोटो

काठमाडौं, कात्तिक २६ : नेपाली र चिनियाँ लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले साउदी अरबको रियाद शहरमा उडान गर्ने तयारी गरेको छ।

हिमालय एयरलाइन्सले साउदी अरबको दमाममा उडान गर्दै आएको छ। अब रियादमा पनि उडान गर्न तयारी गरेको हो। यसको अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ।

भारतको नयाँ दिल्ली उडानको अनुमति नपाएपछि पछिल्लो समय हिमालयले नयाँ गन्तव्यमा उडान गर्न थालेको छ। केही महिना अघिमात्रै बंगलादेशको ढाँका उडान सुरु गरेको हिमालयले लक्ष्मी पूजाको दिनदेखि चीनको राजधानी बेइजिङमा साताको तीन उडान गर्दै आएको छ।

झण्डै १३ वर्षपछि चीन प्रवेश गरेको नेपाली विमान कम्पनी हिमालयले बेइजिङमा ‘फुल अकुपेन्सी’मा उडान गरिरहेको जनाएको छ। अब हिमालयले चीनकै छाङसार, नान्चाङ र ग्वायाङमा उडान विस्तार गर्ने तयारी गरेको छ।

सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको अबुदाबी, दुबई, बंगलादेशको ढाँका, चीनको बेइजिङ र कतारको दोहामा उडान गर्दै आएको छ।

हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान छन्। केही समय अघि एउटा एयरबस भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ।

हिमालय एयरलाइन्समा सुरुआतमा ५१ प्रतिशत शेयर यति वल्र्ड कम्पनीको रहेको थियो भने ४९ प्रतिशत लगानी तिब्बत एयरलाइन्सको थियो। तिव्बत एयरालाइन्सको सेयर केही समय अघि मात्रै चीनको सरकारी स्वामित्वको तिब्बत सिभिल एभियसन डेभलप्मेन्ट एन्ड इन्भेस्टमेन्टले किनेको छ।

 Published Date: Tuesday, 12th November 12:49:42 PM