मंगलबार, चैत्र १८, २०७६

पाँच लाख किराफट्याङ्ग्रा लोप हुने संकटमा

पाँच लाख किराफट्याङ्ग्रा लोप हुने संकटमा छन्। यसले मानव जातिलाई नै ठूलो घाटा हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। एक लाख पशु र वनस्पतिको प्रजाति लोपोन्मुख अवस्थामा रहेको पनि उनीहरूले बताएका छन्।

“यो चिन्ताको विषय हो,” पेड्रो कार्डोसोले बताए। उनी फिन्निश म्युजियम अफ नेचुरल हिस्ट्रीका जीववैज्ञानिक हुन्। साढे ६ करोड वर्षअघि उल्कापात हुँदा डाइनोसर लगायत थुप्रै अन्य जीव लोप भएका थिए। तर यसपटक भने मानव जातिलाई दोष दिनुपर्छ।

“किराफट्याङ्ग्राको संख्या घट्नु र लोप हुनुमा मानवीय गतिविधि नै जिम्मेवार छ,” कार्डोसोले भने। बासस्थानको अतिक्रमण र प्रदूषक, विशेष गरि किटनाशकले किराफट्याङ्ग्रालाई क्षति पुगिरहेको छ। आक्रमणकारी प्रजाति अर्को समस्या हो। दुई हजारभन्दा धेरै प्रजाति मानवीय आहार बनेका छन्। त्यसमाथि जलवायु परिवर्तनले पनि ठूलो प्रभाव पारेको छ। पुतली, कमिला, मौरी लगायतका किराफट्याङ्ग्रा हराउँदै जानु ठूलो समस्या ह।

“किराफट्याङ्ग्रा लोप हुँदा, ती प्रजातिभन्दा धेरै क्षति हुन्छ,” कार्डोसोले भने। “धेरै किराफट्याङ्ग्राले दिने फाइदाको कुनै विकल्प छैन।” पराग सेचन, पोषक तत्त्वको प्रशोधन र किटनाशक जस्ता थुप्रै फाइदा छन्।

जैविक विविधताको हटस्पट

यस्ता “इकोसिस्टम सर्भिस” अमेरिकामा मात्रै ५७ अर्ब अमेरिकी डलर बराबर भएको अघिल्ला अनुसन्धानले पत्ता लगाएको छ। 

विश्वभर पराग सेचनका लागि किराफट्याङ्ग्राको आवश्यकता भएका अन्नबालीको आर्थिक मुल्य कम्तिमा २३५ ५७७ अर्ब अमेरिकी डलर भएको आइपिबिइएस भनेर चिनिने संयुक्त राष्ट्र संघको जैविक विविधता विज्ञान सम्बन्धी प्यानले जनाएको छ। थुप्रै पशुको जीवन किराफट्याङ्ग्रामा निर्भर छ।

युरोप र अमेरिकामा चराको संख्या निकै घटेको छ। किटनाशकको प्रयोगले किराफट्याङ्ग्राको संख्या घटेको र त्यसले नै चराको संख्या घटाएको मानिन्छ।
वैज्ञानिकहरूले किराफट्याङ्ग्राको प्रजातिको संख्या ५५ लाख भएको अनुमान गरेका छन्। तीमध्ये पाँच भागको एक भागमात्रै पहिचान भएको र नामांकरण गरिएको छ।
“जोखिम र लोप हुने खतरामा रहेका किराफट्याङ्ग्राको प्रजातिलाई नजरअन्दाज गरिएको छ। तीमध्ये कति धेरै त दुर्लभ र अज्ञात छन्,” कार्डोसोले भने।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को जोखिममा रहेका प्रजातिको रातो सूचिले दश लाखमध्ये करिब साढे आठ हजार किराफट्याङ्ग्राका प्रजातिको मात्रै मुल्याङ्कन गरेको छ।

करिब दुई सय वर्षअघि औद्योगिक युगले तिव्रता पाएपछि पाँचदेखि दश प्रतिशत किराफट्याङ्ग्राका प्रजाति लोप भएका छन्। पृथ्वीको साढे दुई प्रतिशत सतहमा फैलिएको करिब तीन दर्जन जैविक विविधतायुक्त “हटस्पट” मा वनस्पति र ढाड भएका आधा स्थानीय प्रजाति पाइन्छ।

चौथाइ शताब्दीअघि संरक्षणवादी वैज्ञानिकहरूले प्रकृतिको विनाशलाई लिएर चेतावनी दिएका थिए। सन् २०१७ मा दोश्रो चेतावनी आएको थियो जसमा १५ हजार वैज्ञानिकले हस्ताक्षर गरेका थिए।
 

 Published Date: Thursday, 13th February 06:47:21 AM