मंगलबार, जेठ ७, २०७६

भुक्तानी नपाएपछि चिनियाँ कम्पनीले रोक्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम

धावनमार्ग कालोपत्रे गरिँदै । तस्वीर: काठमाडौं प्रेस

काठमाडौं, वैशाख २९ : रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सबै काम ठप्प भएको छ। आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले भुक्तानी नपाएपछि सबै काम आइतबारदेखि ठप्प पारेको हो।

नागरिक उड्डयन प्राधिकरण तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कागजी प्रक्रियामा ढिलाइ गरेपछि भुक्तानीमा ढिलाइ भएको थियो। जसका कारण आइतबारदेखि ठेकेदार कम्पनीले काम रोकेको हो। 

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार रकम अभाव भएपनि अहिले ठूला काम सबै रोकिएको र अन्य साना काममात्रै सुचारु भएको बताए। ‘एक महिना अघि नै भुक्तानीका लागि पत्र पठाइएको थियो। तर, एसियाली विकास बैंकमा पत्र पठाउन मन्त्रालयले ढिलाइ गर्दा समस्या आएको हो,’ अधिकारीले भने। 

मन्त्रालयले ठेकेदार कम्पनीलाई २० करोड रुपैयाँ भुक्तानी तत्काल दिनुपर्ने छ। पर्यटन मन्त्रालय र अर्थमन्त्रालयबीच समन्वय नहुँदा भुक्तानीमा समस्या आएको हो। केही साताअघि बुटवल उपमहानगरपालिकाले ढुंगा गिट्टीमा पनि रोक लगाएको थियो। यसरी सबैतर्फ अवरोध हुँदा आयोजना समयमा सम्पन्न हुनेमा आंशका उब्जिएको आयोजना प्रमुख अधिकारीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा असार ५ गतेदेखि विमानस्थल सञ्चालनमा आउने घोषणा गरिसकेका छन्। केही दिनको ढिलाइले ६ महिना विमानस्थल सञ्चालनको काम धकेलिन सक्ने उनले बताए।

राष्ट्रिय गौरवका १९ आयोजनामध्ये भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लक्ष्यभन्दा पनि बढी रकम खर्च भएको छ। आर्थिक वर्ष २०७५-७६ मा अन्य आयोजनाको प्रगति निराशाजनक रहेको अवस्थामा भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलले भने लोभलाग्दो प्रगति हासिल गरेको थियो। 

विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्ष २०७५-७६ मा ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको भएपनि ८ महिनामा सबै खर्च गरेर थप ५५ करोड रुपैयाँसमेत खर्च गरेको छ जुन लक्ष्यको १०८.१ प्रतिशत हो। आयोजनाले विमानस्थलमा आठ महिनामा ७ अर्ब ३८ करोड रुपैयाँ खर्च गरिसकेको छ। 

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रविन्द्र अधिकारीले विशेष जोड दिएको विमानस्थलमा आगामी असार ५ गते उडान भर्ने लक्ष्य छ। केही दिन अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्थलगत निरीक्षण गरेका थिए। अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले असार ५ गतेदेखि सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिन आयोजना प्रमुख लगायतलाई निर्देशन दिएका थिए।

एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो। भूकम्प तथा भारतीय नाकाबन्दीका कारण आयोजना निर्माणको काम एक वर्षपछि धकेलिएको थियो। 

आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो। तर, लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ भने मुअब्जाको लागि २३ अर्ब रुपैयाँ आयोजनाले माग गर्दै आएको छ।

समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले सास्ती व्यहोर्दै आएका छन्।  विमानस्थलमा एयर बसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिने बताइएको छ।

 Published Date: Sunday, 12th May 15:52:30 PM