मंगलबार, चैत्र १८, २०७६

‘प्रधानमन्त्री पहिले मार्क्सवादी, बीचमा समाजवादी, आजभोलि यतीवादीजस्तो देखिनुहुन्छ’

गगन थापा।

काठमाडौं, फागुन १३ : कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई संसदमा उभिएर सांसदको प्रश्नको समाना गर्ने हिम्मत जुटाउन चुनौति दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले डाँडाकाँडा घुम्ने नभएर संसदमा उपस्थित भएर प्रश्नको सामाना गर्ने हिम्मत राख्नुपर्ने बताए।

उनले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो प्रधानमन्त्रीले डेढ महिना अघि नै सुनेको दाबी सञ्चारमाध्यमले गरिरहेको वेला प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्ने बताए।

‘अडियो प्रधानमन्त्रीले डेढ महिना अघि नै सुनको दाबी सञ्चारमाध्यमले गरेका छन्। प्रधानमन्त्रीसँग उत्तर दिने हिम्मत छ की छैन? थाहा छैन। तर, संसद्सँग हिम्मत हुनुपर्छ,’ थापाले भने, ‘संसदले सामथ्र्य राख्नुपर्छ। प्रधानमन्त्री डाँडाकाडा डुलेर बस्ने होइन। सदनमा आउनुपर्छ, हामी  निम्छरो होइन, सही प्रश्न सोध्छौं।’ उनले सदनले ध्याकर्षण गराउने मात्रै होइन, सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रूलिङ गर्नुपर्ने बताए।

सल्लाहकारहरूले प्रधानमन्त्रीलाई केही थाहा थिएन भनेको उद्धृत गर्दै थापाले तुलमा राख्दा वजनदार र काभ्रेको प्रतिभाशाली व्यक्तिले गरेको डिलबारे प्रधानमन्त्रीलाई थाहा थिएन भनेर पत्याइदिन पर्ने भन्दै प्रश्न गरे। उनले सेक्युररिटी प्रेस, स्टालेलाइलट, फोरजी, अप्टिकल फाइबरलगायतका सबै ठेक्काबारे प्रधानमन्त्रीलाई थाहा रहेको र परिस्थिति नियन्त्रण बाहिर गएपछि बास्कोटालाई बलिको बोको बनाएको बताए।

‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीसँग आफ्नै अनुहार हेर्न बालुवाटरमा ऐना छ की छैन,’ थापाले भने, ‘हामीसँग सत्तापक्षकै सांसदले झिनो स्वरमा भन्ने गरेका छन्। प्रधानमन्त्री पहिले माक्र्सवादीजस्तो, बीचमा समाजवादीजस्तो, आजभोलि यतीवादीजस्तो देखिनुहुन्छ।’

एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने विषयमा संविधान संशोधन गर्न नहुने बताए। उनले यसमा प्रधानमन्त्री कमजोर देखिएको उल्लेख गर्दै जनताले प्रधानमन्त्रीलाई बाहिर देखिँदा सुरो, तर यतार्थमा विचरो भनिरहेको जिकिर गरे।

उनले प्रधानमन्त्री ओलीले हालै मनाएको जन्मदिनले २०६१ सालका राजा ज्ञानेन्द्रको न्यास्रो मेटिएको टिप्प्णी गरे। उनले प्रधानमन्त्रीलाई सबै कुरा थाहा पाएर नपाएजस्तो गरेको भए पाप गरेको र थाहा नै नभएको भए उनको अक्षमता भएको बताए। उनले यदी केही थाहा नभएको भए प्रधानमन्त्रीसँग संख्या भए पनि शासन गर्ने योग्यता र क्षमता गुमाएको उनको भनाइ थियो।

 Published Date: Tuesday, 25th February 14:34:18 PM