शुक्रबार, फागुन १६, २०७६

एक लाख ३२ हजार महिला वैदेशिक रोजगारमा, अधिकांश घरेलु कामदार र केयरगिभर

काठमाडौं, फागुन २ : वैदेशिक रोजगारमा जाने पुरुषसँगै महिलाको संख्या पनि बढ्दै गएको छ। वैदेशिक रोजगार विभागका अनुसार, एक लाख ३२ हजारभन्दा बढी महिला वैदेशिक रोजागरमा गएका छन्। तर, आधाभन्दा बढी सीपबिना जाने गरेकाले समस्यामा पर्ने गरेका छन्। 

सामान्य लेखपढ गरेका महिलाका लागि पनि वैदेशिक रोजगार आकर्षक गन्तव्य बन्न थालेको छ। नेपालमा रोजगारी गरेर पनि अहिलेको महंगी धान्न सक्ने अवस्था नभएपछि वैदेशिक रोजगारमा जाने गरिएको छ। ‘सामान्य कर्मचारीले आफ्नो परिवारको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, त्यसैले वैदेशिक रोजगारी जाने क्रम बढिरहेको छ,’ वैदेशिक रोजगारी विभागका सूचना अधिकारी भोलानाथ गुरागाइले भने। 

निजी संस्थामा काम गर्दा तलव, सेवा सुविधा निकै कम हुन्छ। सरकारी जागिर खानको लागि उच्च शिक्षा हासिल चाहिन्छ। जसले गर्दा सामान्य लेखपढ गरेका महिला वैदेशिक रोजगारीमा जान थालेको उनले बताए। तर, सीपबिना नै बैदेशिक रोजगारी जाने गरेकाले समस्यामा पर्ने गरेको पाइएको उनको भनाइ छ। 

वैदेशिक रोजगारमा जाँदा सूचना तथा जानकारी लिएर र अभिमूखिकरण तालिम लिएर जानुपर्ने कानूनी व्यवस्था छ। विभागका अनुसार, २५ प्रतिशत महिला मात्रै सीप सिकेर वैदेशिक रोजगारीमा गएका छन्। 

विभागको तथ्यांकअनुसार, श्रम स्वीकृति लिनेमध्ये ५८ प्रतिशत कुनै पनि सीप नभएका छन्। विभागको प्रतिवेदनअनुसार, सीपको तहमा महिलाको संख्या शून्य दशमलव पाँच प्रतिशत मात्रै रहेको छ। 

वैदेशिक रोजगारमा जाने प्रायः महिलाको रोजाइ कतार, साउदी अरब, यूएई, मलेसिया, कुवेत, बहराइन, ओमन, जापान, माल्दिभ्स र अफगानिस्तान छन्। अधिकांश घरेलू कामदार वा केयरगिभरको रुपमा जाने गरेका छन्। 

वैदेशिक रोजगारीमा गएका प्रमुख १० जिल्ला 
वैदेशिक रोजगार विभागका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा देशभरिबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या एक लाख ३२ हजार नौ सय ९५ रहेको छ। जबकी प्रमुख १० जिल्लाका मात्रै एक लाख २२ हजार ६ सय ९८ रहेका छन्। 

सबैभन्दा बढी महिला बैदेशिक रोजगारीमा जाने झापा रहेको छ। झापाका २३ हजार ५६ जना जनाले श्रम स्वीकृति लिएका छन्। सिन्धुपाल्चोकबाट १८ हजार पाँच सय, मोरङबाट १५ हजार एक सय १९, काठमाडौं १२ हजार चार सय १९ र मकवानपुर ११ हजार तीन सय ७४ रहेका छन्। श्रम स्वीकृती लिने महिलामध्ये १७.३४ प्रतिशत झापाका र १३.९१ प्रतिशत  सिन्धुपाल्चोकका छन्। 

त्यस्तै, काँभ्रेपाल्चोकबाट नौ हजार ६ सय ३०, सुनसरीबाट नौ हजार तीन सय सात, नुवाकोटबाट आठ हजार तीन सय एक, चिवतनबाट सात हजार सात सय ४४ र इलामबाट सात हजार दुई सय ४८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन्। 

 Published Date: Friday, 14th February 15:20:07 PM