शुक्रबार, साउन ३०, २०७७

वैदेशिक रोजगारमा जान २१ सयले लिए फेरि श्रम स्वीकृति

काठमाडौं, असार ३० : वैदेशिक रोजगारका लागि विदेश जान १२ दिनमा दुई हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिएका छन्। विदामा घर आएका युवाले फेरि वैदेशिक रोजगारमा जान खोजेका हुन।

सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको छ। मंगलबारसम्म दुई हजार हजार एक सय ३५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागको ताहचल कार्यालयका अनुसार बिदामा घर फर्केकाहरु पुनः विदेश जान श्रम स्वीकृति लिइरहेका छन्।

दैनिक एक सयको हाराहारीमा श्रम स्वीकृति लिइरहेको ताहचल कार्यालय प्रमुख उमेश बस्नेतले बताए। ‘सुरुआति दिनमा दैनिक चार सयसम्मले श्रम स्वीकृति लिएका थिए, अहिले घटेर एक सयको हाराहारीमा पुगेको छ,’ बस्नेतले भने ।

अहिले सरकारले ३० वटा देशमा जानको लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको छ। अहिलेसम्म एक हजार नौ सय १४ जना पुरुष र दुई सय २१ ज्ना महिलाले पुनः श्रम स्वीकृति लिएका हुन्।

अहिलेसम्म सबैभन्दा धेरै युएईका लागि श्रम स्वीकृति लिएका छन्। युएई जान एक हजार १७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।

दोस्रोमा जापान र तेस्रोमा कतार रहेका छन्। जापनका लागि दुई सय ९७ र कतारका लागि दुई सय ६१ ज्नाले स्वीकृति लिएको कार्यालय प्रमुख श्रेष्ठले बताए।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सरकारले गत फागुन ३० गत श्रम स्वीकृति दिन बन्द गरेको थियो। अहिले कोरोनाको संक्रमण कम भएको देशमा श्रम स्वीकृति दिन कोभिड–१९ संकट व्यवस्थापना केन्द्रको असार ७ गतेको बैठकले श्रम स्वीकृति दिन अनुमति दिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि अहिले श्रम स्वीकृति लिएकालाई प्राथमिकतामा राखिने विभागले जनाएको छ। पुनः श्रम स्वीकृति लिएकाहरुलाई प्राथमिकतामा राख्ने योजना बनेको विभागका महानिर्देशक कुमार दाहालले बताए ।

तत्काल अन्तर्राष्ट्रिय उडान खुल्ने देखिएको छैन। सरकारले साउन ७ गतेसम्म सबै उडान बन्द गरेको छ।

 Published Date: Tuesday, 14th July 11:59:25 AM