शनिबार, असार २७, २०७७

वैदेशिक रोजगारीमा गएकालाई लकडाउनका बेला नेपाल नल्याइने 

काठमाडौं वैशाख १० :  वैदेशिक रोजगारीमा गएर लकडाउनले रोकिएका नेपालीलाई तत्काल नेपाल ल्याउने योजना सरकारले बनाएको छैन। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कम्पनीमा काम गर्ने भिषा अवधि सकिएका र भिजिट भिषामा गएकाहरुको तथ्यांक संकलन भइरहेको बताए। ‘तत्काल ल्याउन नसक्नेभएपछि लकडाउन खुल्ला भएपछि ल्याउन सहज हुने भन्दै तथ्यांक संकलन गरिएको हो। लकडाउन खुल्नासाथ ल्याउन सकिन्छ,’ दाहालले भने, ‘तत्काल भने ल्याउने योजना बनेको छैन्।’

वैदेशिक रोजगारीमा गएकामध्ये लकडाउनका कारण खाडी मुलकमा ५० हजारदेखि एक लाख जना समस्यामा परेका छन्। कम्पनीमा काम गर्ने समय अवधि सकिएपछि भिषा थप्न रोकिएकाले कम्पनीले बस्न खान नदिने र अन्य स्थानमा काम गर्न नसक्ने भएपछि समस्यामा परेका दाहाल बताउँछन् । 

‘समस्यामा परेकाहरुमा कुवेत, दुवई, साउदी अरब, युएई, बराइन, कतार, ओमनका श्रमिक हुन।’ दाहाल भन्छन्,‘दैनिक १० हजारको हाराहारीमा खाडी मुलुकबाट आउने जाने काम भइरहेको हुन्थ्यो। एक्कासी लकडाउन हुँदा नेपाल फर्किन अन्तिम तयारी अवस्थामा बसेकालाई समस्या परेको हो।’

उनले भने,‘भिजिट भिषामा गएकाहरु, ठुलाठुला व्यवसायीहरु समेत लकडाउनका कारणले उतै देशमा रोकिएका छन्। अन्तराष्ट्रिय विमानस्थलको नियम अनुसार हवाई सेवा सञ्चालन गर्ने अनुमती छैन। लकडाउन उल्लघन गर्न मिल्दैन। त्यसैले जो जहाँ हुनुहुन्छ त्यतै बस्न आग्रह गरिएको छ।’

उनका अनुसार कामगरी रहेका भन्दा पनि काम गर्ने अवधि सकिएर नेपाल फर्किने तयारीमा रहेका कामदारसँग न पैंसा छ, न काम छ। त्यस्ता व्यक्तिहरुलाई सम्बन्धित दुतावाससँग सम्र्पक गरेर सुरक्षित बस्न आग्रह गरिएको छ। 

उनले भने, ‘अहिले व्यवस्थापनको समय हो। आपतमा परेकालाई नेपाल ल्याउन सक्ने अवस्था नभएपछि राहत दिँदै खाना बस्नको व्यवस्था गर्न पहल गरिएको छ। तत्काल नेपाल ल्याउने भन्दा पनि व्यवस्थापनमा जोड दिइएको छ।’

काम गरिरहेकालाई कम्पनीले व्यवस्थापन गरिरहेको उनले बताए। साथै उनले दुतावासहरुले नेपाली श्रमिकहरुलाई राहत वितरण गरिरहेको  जानकारी दिए।  सम्बन्धीत दुतावासले गुनासो सुन्ने उल्लेख गर्दै उनले भने, ‘खाना नपाएको अवस्था छैन, कोरोना प्रभावितलाई पनि सोही देशले नै उपचार गरिहेको छ।’

७ वटा देशमा एक सय ४८ नेपाली संक्रमित 

हालसम्म ७ वटा देशमा कुल एकसय ४८ जना नेपाली कोरोनाको संक्रमित भएको विभागले जनाएको छ । महानिर्देशक दाहालका अनुसार एक सय २३ जना क्वारेन्टाइनमा छन् भने, २० जना अस्पतालमा र ५ जनालाई निको भइसकेको छ। 

बैदेशिक रोजागारीको गन्तव्य मुलुकमध्ये युएईमा सबैभन्दा बढी कोरोना प्रभावित भएको छ। त्यहाँ ७५ जना नेपाली श्रमिकलाई कोरोना संक्रमण भएको दाहालले जानकारी दिए। जसमध्ये ६७ जना क्वारेन्टाइनमा, ६ जना अस्पतालमा र २ जनालाई निको भइसकेका छन्।

दाहालका अनुसार बहराईनमा ४९ नेपाली कोरोना संक्रमित छन्। ३७ जना क्वारेन्टाइनमा र १२ जना अस्पतालमा छन्। कुवेतमा १९ जना संक्रमित रहेका सबै क्वारेन्टाइनमा छन्। लेसिया, साउदी अरब, कतारमा कम संख्यामा कोरोना संक्रमित छन् भने ओमनमा हालसम्म नेपाली श्रमिक संक्रमित भेटिएको छैन। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरले खान नपाएको भन्ने गुनासो कतैबाट नआएको बताए। उनका अनुसार कुवेतमा काम गर्ने अवधि सकिएर अलपत्र परेका दुई सयभन्दा बढीको भिषा थप्न लगाइएको छ। साथै धेरै श्रमिकहरु पठाएको व्यवसायिक कम्पनीसँग पनि नेपालीको सुरक्षाको विषयमा कुराकानी भइरहेको उनको भनाई छ। 

विभिन्न अपराधिक क्रियाकलाप गरेर छोटो समयको लागि जेल सजाय भोगिरहेका नेपालीले पनि छुट पाएका छन्। त्यस्ता व्यक्तिलाई लकडाउन खुल्ला भएपछि नेपाल ल्याउने योजना भइरहेको उनले बताए।  ‘ओमनमा खाना नपाएका छैनन्। बराइनमा पनि खाना नपाएका कोही छैनन्।’ उनले भने, ‘काम गरिरहेका नेपाली श्रमिकहरुलाई त समस्या हुने कुरै भएन।’ 

अध्यक्ष गैरेका अनुसार सबैभन्दा धेरै गुनासो कुवेत, दुवई र बहराइनबाट आएकोमा अहिले समस्या समाधान भइसकेको छ।

 Published Date: Wednesday, 22nd April 15:16:17 PM