आईतबार, फागुन ११, २०७६

सहिद स्मारक ए डिभिजन लिग : तेस्रो बन्यो मनाङ

काठमाडौं, फागुन २ : डिफेन्डिङ च्याम्पिनय मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो खेल तेस्रो स्थानमा सकाएको छ । लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई १–०ले हराउँदै मनाङले तेस्रो स्थान पक्का गरेको हो । 

लिगमा एउटा मात्र हार बेहोरेको मनाङले १३ खेलमा ८ जित, ४ बराबरीका साथ २८ अंक जोड्यो । लिगको १२औं चरणमा त्रिभुनव आर्मी क्लबले ब्रिगेड बोइजलाई हराएसँगै मनाङ उपाधि होडबाट बाहिरिएको थियो । 

११औं चरणमा मनाङ च्यासल युथ क्लबसँग २–० ले पारजित भएको थियो । फ्रेन्ड्स, मच्छिन्द्र, हिमालयन शेर्पा र थ्री स्टारसँगको लागतर चार बराबरी नै मनाङको उपाधि होडबाट बाहिरिनुको कारण बन्यो । 

शुक्रबार भएको अन्तिम खेलमा मनाङलाई जित दिलाउने क्रममा निशान लिम्बूले निर्णायक गोल गरे । उनले ७५औं मिनेटमा सुशील लामाको क्रसमा निशानले गोल गरेका थिए । 

मनाङसँगको हारका बाबजुद पनि जावलाखेलले सुपर सिक्स पक्का गरेको छ । १९ अंकका साथ जावलाखेल छैठौं स्थानमा रह्यो । 

लिग उपाधिको छिनोफानो शनिबार हुने त्रिभुनव आर्मी र मच्छिन्द्र क्लबबीचको खेलबाट हुने छ । आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ भने मन्छिन्द्रको २८ अंक छ ।

 Published Date: Friday, 14th February 18:24:19 PM