सोमबार, भदौ ३०, २०७६

अर्थमन्त्री खतिवडाले भने- नेपालमा ‘पोलटिकल पावर र हाइड्रोपावर’ दुवै छ, लगानी गर्नुहोस्

काठमाडौं, भदौ २५ :  अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा अहिले पोलटिकल पावर र हाइड्रोपावर दुवै रहेकाले लगानीको वातावरण उपयुक्त भएको बताएका छन्।

बुधबारदेखि काठमाडौंमा सुरु भएको ‘पूर्वाधार सम्मेलन २०१९’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा अहिले स्थायी सरकार रहेको र जलविद्युतमा पनि राम्रो भइसकेकाले पूर्वाधारमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातृ निकाय मिलेर अगाडि जानु पर्ने बताएका हुन्।

अर्थमन्त्री खतिवडाले पूर्वाधार निर्माणमा सरकारले मुख्य ध्यान केन्द्रित गरेको बताए। उनले पूर्वाधार विकासको स्रोत जुटाउने ठाउँ शेयर बजार भएको समेत बताए। 
‘पूर्वाधार विकासका लागि चाहिने स्रोत जुटाउने ठाउँ भनेको शेयर बजार हो। शेयर बजारबाट आईपीओ जारी गरेर पूर्वाधारको विकासमा लगानी जुटाउन सकिन्छ,’ उनले भने।

नेपालमा अहिले ७ सय ६१ वटा सरकार रहेको उल्लेख गर्दै उनले स्रोतको सीमितताले गर्दा लगानीका लागि सरकारले मात्रै नसक्ने समेत बताए। नेपालले दक्षिण एसियामै सबैभन्दा धेरै सामाजिक सुरक्षामा खर्च गरिरहेको समेत उनले बताए।

‘हामीले बजेटको १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च गर्ने गरेका छाैँ,’ अर्थमन्त्री खतिवडाले भने। सरकारले पूर्वाधार क्षेत्रमा अहिले पनि वार्षिक बजेटको ५५ देखि ६० प्रतिशत खर्च गरिरहेको समेत दाबी उनले पूर्वाधार सम्मेलनमा गरे।

अर्थमन्त्री खतिवडाले सम्मेलनमा यतिबेला नेपालमा पूर्वाधारमा लगानी गर्नेहरुका लागि करमा सहुलियत दिएको बताए।  लगानीकर्ताहरुलाई लगानीको नाममा विदेशबाट ऋण नल्याउन आग्रह गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘पूर्वाधारमा लगानी गर्ने भनेर विदेशबाट ऋण नल्याउनु, ल्याउने नै हो भने लगानी नै ल्याउनू।’

अर्थमन्त्री खतिवडाले अन्य देशमा लगानी गर्दा १० प्रतिशत मात्रै प्रतिफल पाउने तर नेपालमा लगानी गर्दा २५ प्रतिशत प्रतिफल पाउने भएकाले मौकाको फाइदा उठाउन आग्रह समेत गरे। बिहीबार (भोलि) सम्म चल्ने सम्मेलनमा दातृ निकाय तथा निजी क्षेत्रको उल्लेख्य सहमागिता रहेको छ। नेपाल सरकार र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा हरेक वर्ष पूर्वाधार सम्मेलन गर्दै आएका छन्। 
 

 Published Date: Wednesday, 11th September 16:58:12 PM