शुक्रबार, असोज ९, २०७७

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न दौडधूप सुरू

काठमाडौं, साउन २६ : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि दौडधूप सुरु भएको छ। 

कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन एक महिना बाँकी छँदै कार्यकारी निर्देशक बन्न दौडधूप सुरु भएको हो। कार्यकारी निर्देशक घिसिङको कार्यकाल भदौ २९ मा सकिँदैछ।  

प्राधिकरणको कार्यकारी निर्देशक बन्न पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) सुशील ज्ञवाली, विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत भुसालले लबिङ गरिरहेका छन्। 

पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक रहेका ज्ञवाली लगानी बोर्डको सीईओ बन्ने दौडमा थिए। तर, सर्टलिष्टमा परेका ज्ञवाली अन्तर्वार्तामा उपस्थित भएनन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्राधिकरणको कार्यकारी निर्देशक बनाउने बचन दिएकाले लगानी बोर्डको सीईओ बन्ने दौडबाट बाहिरिएका थिए।

‘लगानी बोर्डको सीईओको दौडबाट उहाँ बाहिरनुको अर्थ प्राधिकरणको कार्यकारी निर्देशकको आश्वासन नै हो,’ स्रोतले भन्यो। प्राधिकरणको कार्यकारी निर्देशक बन्ने दौडमा रहेका सिंह र भुसाल पनि बलियो उम्मेदवार हुन्। स्रोतका अनुसार ऊर्जामन्त्री पुनले सिंहलाई कार्यकारी निर्देशक बनाउन चाहन्छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका भुसालको सम्भावना पनि बलियो देखिएको छ। प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद् बैठकबाट हुने भएकाले प्रधानमन्त्रीले चाहेको व्यक्तिले नियुक्ति पाउन सक्छन्। राष्ट्रपति भण्डारीसँग निकट सम्बन्ध रहेका भुसालको सम्भावना पनि उत्तिकै रहेको प्राधिकरण स्रोतको दाबी छ।

मुलुकले १८ घण्टा लोडसेडिङ व्यहोरिरहेका बेला प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले दोहोरिन लबिङ थालेका छन्। तर, घिसिङको पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनसँग सम्बन्ध चिसिएकाले नयाँ व्यक्ति कार्यकारी निर्देशक बन्ने सम्भावना रहेको प्राधिकरण स्रोतको दाबी छ। 

घिसिङ निकटस्थहरुले भने प्रधानमन्त्री र उर्जामन्त्री दुवैसँग सम्बन्ध राम्रो रहेको दाबी गर्छन्।  उपत्यकालाई लोडसेडिङमुक्त बनाउने योजनासहित प्राधिकरण छिरेका उनले सोही वर्षको लक्ष्मी पूजादेखि नै लोडसेडिङ अन्त्य गरेका थिए।  घिसिङ जनार्दन शर्मा उर्जामन्त्री हुँदा २०७३ भदौ २९ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

घिसिङको नेतृत्वमै अहिले राजधानीमा विद्युतको तारलाई भूमिगत गरेर व्यवस्थित गर्ने काम भइरहेको छ। उनले वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा समेत लगेका छन्।  

यद्यपी घिसिङ डेडिकेटेड फिडरको विवादमा भने मुछिएका छन्। उद्योगीहरुसँग प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युतको १४ अर्ब महसुल उठाउन बाँकी छ। संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइन बक्यौता सम्बन्धमा अध्ययन गर्न गठिन उपसमितिले बक्यौता असुलीमा लापरवाही भएको निष्कर्षसहितको प्रतिवेदन बुझाइसकेको छ।

प्रतिवेदनमा प्राधिकरण सञ्चालक समिति अध्यक्ष रहेका ऊर्जामन्त्री पुन, कार्यकारी निर्देशक घिसिङ, प्राधिकरणका सञ्चालकहरु र कर्मचारीमाथि छानविन गर्नु पर्ने उल्लेख छ। घिसिङ पछिल्लो पटक विवादमा मुछिएकाले प्राधिकरणको कार्यकारी निर्देशकका लागि ज्ञवाली, सिंह र भुसालबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। 
 

 Published Date: Monday, 10th August 2020 12:38:34 pm