शनिबार, असार २७, २०७७

राहत वितरणमा भेदभाव भएको निहुँमा झडप

काठमाडौं, चैत २६ : कागेश्वरी मनोहरा नगरपालिका ८ को गोठाटारमा राहत वितरणमा भेदभाव भएको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको छ। लकडाउनका बेला नगरपालिकाले वितरण गरेको राहतमा मजदुरबीच भेदभाव गरेको भन्दै विवाद हुँदै आएको थियो ।

राहत वितरण गर्दै आएका टोल सधार समितिका अध्यक्ष र स्थानीय मजदुबीच झडप भएको हो। वडाले टोलसुधार समितिको अध्यक्ष माइला तामाङलाई राहत वितरण गर्ने जिम्मा दिएको थियो।

धनी र वडामा पहुँच हुनेलाई मात्र राहत दिएको भन्दै मजदुरले विरोध गरेपछि नगर प्रहरीले लाठीचार्ज समेत गरेको थियो।

राहत लिन पुगेका स्थानीय २५ वर्षीय सुमन लामाले आफू निकट र नातेदारलार्ई मात्र राहत वितरण गरेपछि विवाद भएको बताए।

राहत वितरण गर्ने जिम्मेवारी पाएका टोलका अध्यक्षले भेदभाव गर्दा मजदुर वर्गले नै राहत नपाएपछि झडप भएको हो । 

‘वडामा पहुँच हुनेले दुई पटकसम्म राहत लिए’ उनले भने, ‘कोही नभएका मजदुरले एक पटक पनि नपाएपछि छलफलको क्रममा झडप भएको हो।’
नगरप्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गरेपछि स्थानीय झन आक्रोशित भएका हुन। 

राहत वितरणमा भष्टाचार गर्ने टोल सुधार समितका अध्यक्षलाई कारवाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्।

वडा आफैं सक्रिय भएर राहत वितरण गर्ने 

राहत वितरण गर्दा विभेद गरेका पाइएमा कारवाही गर्ने कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ का प्रमुख कृष्णप्रसाद चापागाईले बताए। 

‘राहत वितरणको जिम्मा टोललाई दिँदा अति आवश्यक परेको व्यक्ति पहिचान गरेर दिन सहज हुन्छ भनेर गरेका हौं,’ उनले भने, ‘तर झडपकै स्थिती सृजना हुनु गलत हो । हामी बुझेर दोषीलाई कारवाही गर्छाैं।’

उनले सबैले राहत पाउने दाबी गरे। ढिलै भएपनि लकडाउनका बेला सबै मजदुर बर्गले राहत पाउने उनको भनाई थियो। 

मजदुर, विपन्न र कोठा भाडामा लिई बसेका विद्याथीलाई एक हजार रुपैयाँ बाराबरको खाद्यन्न साम्रगी वितरण गर्ने भनी राहत प्याकेज ल्याएको उनले बताए। 
 

 Published Date: Wednesday, 8th April 14:46:33 PM