बिहिबार, असोज १५, २०७७

तत्काल त्रिविले परीक्षा नगर्ने 

काठमाडौं, साउन ३० : त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड १९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन् ।

यसअघि लकडाउन खुलेसँगै पनिकाले आउँदो भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उनले भने, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ ।

त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ । भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाण्डौ आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।

 Published Date: Friday, 14th August 2020 1:03:40 am