सोमबार, भदौ २, २०७६

हेटौँडामा डेङ्गुको महामारी, एउटै वडामा ६० बिरामी

डेङ्गु संक्रमित बालिका उपचार गराउदै। | तस्वीर:काठमाडौं प्रेस

हेटौँडा, साउन २९ : मकवानपुरको हेटौँडामा डेङ्गुको महामारी फैलिएको छ। एउटै वडामा ६० जनामा डेङ्गु देखिएको छ।

डेङ्गुले मकवानपुरका विभिन्न भाग असर पारेको छ। विशेष गरेर हेटौँडा उपमहानगरपालिकामा यसका प्रकोप देखिएको हो। हेटौँडा–४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको उपमहानगरका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले बताए।

यो सङ्ख्या जिल्लाभरिको डेङ्गु सङ्क्रमितहरुको आधा भएको उनको भनाइ छ।नियन्त्रणको प्रयास भइरहे पनि मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसले महामारीकै रुप लिएको उनले बताए।

अहिले पनि नियन्त्रणका प्रयास भइरहेका छन्। बृहत सचेतना, सरसफाइ तथा डेङ्गु सार्नसक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गर्न थालेको महाशाखा प्रमुख कार्कीको भनाइ छ।

हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, सुरक्षाकर्मी परिचालन गरेर लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एन्ड डिस्ट्रोय’ चलेको जनस्वास्थ महाशाखा प्रमुख कार्कीले बताए।

 Published Date: Wednesday, 14th August 11:18:00 AM