सोमबार, भदौ २, २०७६

आज नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठकमा नेताहरू। | तस्वीर:फाइल फोटो

काठमाडौं, साउन २९ : लगातार स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक फेरि आज बोलाइएको छ।

नेकपा सचिवालय बैठक आज दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ। हिजो पनि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर नबस्ने जानकारी गराइएको थियो।

यस अघि नेकपा सचिवालय बैठक साउन १३ गते बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक भ्रमणमा दुबई प्रस्थान गरेपछि बैठक स्थगित भएको थियो। त्यसयता बस्न सकेको छैन।

आज बस्ने बैठकमा केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनका विषयमा छलफल हुने जनाएको छ। नेकपाको केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागको टुंगो लाग्न बाँकी रहेको छ।

त्यस्तै, स्कुल विभागमा पनि विवाद छ। त्यसमा घनश्याम भुषाल, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ।

पूर्वमाओवादीहरुले पोखरेललाई स्कुल विभागमा प्रमुखमा स्वकार गर्न सकेका छैनन भने श्रेष्ठलाई पूर्वएमालेहरुले पनि स्वीकारेका छैनन्। नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल स्कुल विभागमा भुषाललाई ल्याउन पक्षमा भएपनि अध्यक्ष ओली सकारात्मक देखिएका छैनन्। जसले गर्दा स्कुल विभाग प्रमुखमा विवाद रहदै आएको छ।

आजको बैठकमा त्यस विषयमा पनि छलफल हुने नेकपाले जनाएको छ।

 Published Date: Wednesday, 14th August 10:34:26 AM