सोमबार, चैत्र २४, २०७६

कोरोनाले संसारका साढे दुई अर्ब मानिस घरभित्रै

काठमाडौं, चैत १३ : कोरोना भाइरसको संक्रमणबाट जोगिन संसारका झन्डै साढे दुई अर्ब मानिस घरभित्रै रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार, दर्जनौ देशले लकडाउन गरेपछि साढे दुई अर्ब मानिसले घरभित्रै बस्नुपरेको हो।

कोरोना भाइरसको संक्रमणबाट जोगिन केही देशले पूरै र केही देशले आंशिक क्षेत्रमा लकडाउन गरेको छ। नेपालमा पनि देशभरी नै लकडाउन गरिएको छ। जसले गर्दा झन्डै तीन करोड मानिसले घरभित्रै बस्नु परिरहेको छ।

नेपालमा आज लकडाउनको तेस्रो दिन हो। अत्यावश्यकबाहेका सबै क्षेत्र बन्द रहेका छन्। यातायातका साधन एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न पाएका छैनन्। जिल्लाजिल्ला भित्रै पनि अत्यवाश्यकबाहेका साधन चलेका छैनन्।

नेपालमा अहिलेसम्म तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भइसकेका छन भने दुई जनाको उपचार भइरहेको छ।

त्यस्तै, सबैभन्दा बढी भारतका बासिन्दा लकडाउनमा छन्। भारतमा तीन साताका लागि लकडाउन गरिएको छ। झन्डै एक सवा अर्ब मानिस भारतमा लकडाउनमा छन्।

भारतका २२ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबारसम्म भारतमा ६ सय ६४ जनामा संक्रमण देखिएको छ भने १२ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा संक्रमणको क्रम बढ्दै गएको छ।

त्यस्तै, बेलायत लकडाउनमा छ। इटाली, स्पेन, इरान, जर्मनी र फ्रान्स पनि लकडाउनमा छ। अमेरिकाका पनि थुप्रै शहर लकडाउनमा छन्। दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया र जापनका पनि थुप्रै भागमा लकडाउन गरिएको छ। त्यहाँका वासिन्दा केही दिनदेखि घरभित्रै छन्।

नेदरल्यान्ड, बेल्जियम, क्यानाडा, नर्बे, पोर्चुगल, ब्राजिल र स्वीडेनका पनि केही शहरमा लकडाउन गरिएको छ। खाडी मुलुकहरुका थुप्रै शहर पनि केही दिनदेखि लकडाउनमा छन्। पूरै र आंशिक लकडाउन गरिएका देशभन्दा नगरिएका देश कम रहेका छन्।

अन्तर्राष्ट्रिय उडान, यातायात र सीमा त थुप्रै देशले बन्द गरिसकेका छन्। कोरोना भाइरसको संक्रमण भेटिएको एक सय ९८ देशमै कडाइ गरिएको छ। ति देशमा पर्यटकको आगमनमा भने लगभग रोक लगाइएको छ।

बिहीबारसम्म एक सय ९८ देशमा चार लाख ७१ हजार पाँच सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तिमध्ये २१ हजार दुई सय ९७ जनाले ज्यान गुमाइसकेका छन्। अझै १४ हजार सात सय ९२ जना गम्भीर रहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, केही निको पनि भएका छन्। बिहीबारसम्म एक लाख १४ हजार ६ सय ९४ जना निको भएर घर फर्केका छन्।

तर, इटाली इरान, स्पेन र फ्रान्समा मृतकको संख्यामा कमि आउन सकेको छैन। गत २४ घन्टामा मात्रै दुई हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

अहिलेसम्म सबैभन्दा बढी इटालीमा सात हजार पाँच सय तीन जनाले ज्यान गुमाएका छन्। इटालीमा ७४ हजार तीन सय ८६ जना बिरामी रहेका छन्।

त्यस्तै, चीनमा ८१ हजार दुई सय ८५ जना बिरामीमध्ये तीन हजार दुई सय ८७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा ६८ हजार चार सय ७२ मध्ये एक हजार ३२ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा समेत मृत्यु हुनेको संख्या बढ्दै गएको छ। ६४ हजार चार सय ७२ जना बिरामीमध्ये एक हजार ३२ जनाले ज्यान गुमाएका छन्।

 Published Date: Thursday, 26th March 11:19:02 AM