सोमबार, चैत्र २४, २०७६

कोरोना भाइरस ओभरलोड: यी हुन् गलत सूचना र भयबाट टाढा रहने पाँच उपाय

विज्ञान, सल्लाह र महाव्याधिको परिणाम तीव्र परिवर्तन भइरहेका बेलामा कोभिड १९ सम्बन्धी नयाँ जानकारी कसरी लिने?

तनाव बढिरहेको अवस्थामा सूचनाको बाढी आएको छ। यसले निर्णय गर्ने क्षमतामा प्रभाव पारिरहेको छ। उसो भए कसरी सही सूचना कुन हो कसरी निर्धारण गर्ने त? सामाजिक सञ्जालमा सूचना शेयर गर्नुअघि बाहिर गएर अरूसँग हेलमेल गर्नुअघि वा पसलमा किनमेल गर्नुअघि के सोचविचार गर्नुपर्छ?

“गलत सूचना फैलिने यो एउटा उपयुक्त अवस्था हो। परिस्थितिमा तीव्र परिवर्तन आइरहेको छ। यसले सबैलाई खतरामा पारेको छ। अत्यधिक अनिश्चितता छ,” अष्ट्रेलियन नेसनल सेन्टर फर द पब्लिक अवेयरनेस अफ साइन्सका डा. विल ग्रान्टले भने,“कोभिड १९ दृश्य र रेखीय छ। यसको बलियो ऐतिहासिक समानान्तर छ। तर यो यस्तो वातावरण हो जहाँ सूचना र गलत सूचना तीव्र रूपमा फैलिन्छ।”

१.  स्रोतबारे विचार गर्नुहोस्

नयाँ सूचना चार्ट, ग्राफ, सामाजिक सञ्जालका पोस्ट, समाचार, पोडकास्ट, टेलिभिजनका बुलेटिन, साथीभाइ र भेटघाट हुने व्यक्तिबाट आइरहेको छ। एपिडेमियोलोजिस्ट, तथ्याङ्कशास्त्री वा स्वास्थ्य स्याहार विशेषज्ञ थोरै मात्र छन्। उपलब्ध जानकारी बुझ्ने क्षमता थोरैमा मात्र हुन्छ। विशेषज्ञको सल्लाह मान्नुपर्छ भन्नेमा दुई मत छैन। तर को हुन् विशेषज्ञ?

अष्ट्रेलियन साइन्स मिडिया सेन्टरकी लिन्डाल बाइफोर्ड भन्छिन्,“दाबी कसले गरेको हो, त्यसमा विचार पुर्‍याउनुपर्छ। सूचनाको स्रोत के हो, आफूलाई नै प्रश्न गर्नुहोस्। विश्व स्वास्थ्य संगठनजस्ता प्रतिष्ठित/विश्वसनीय संस्थाले पोस्ट गरेको हो कि कसैले सुनेको भरमा गरिएको पोस्ट हो, ध्यान दिनुपर्छ। गलत सूचना अफवाहजस्तै हुनसक्छ। त्यस्तो संस्थालाई कसले लगानी गर्छ, त्यसबारे विचार गर्नु पनि उपयुक्त हुनसक्छ। बाँडिएका सूचनाबाट नाफा कमाउने उद्देश्य छ कि?”

सूचना शेयर गर्नुअघि सबैले समय लिनुपर्ने र विचार पुर्‍याउनुपर्ने ग्रान्टले बताए। “अनलाइनमा पढेकै आधारमा व्यवहारमा परिवर्तन गर्नुअघि आधिकारिक निकायको कुरा सुन्नु महत्त्वपूर्ण हुन्छ   उदाहरणका लागि प्रमुख स्वास्थ्य अधिकारी। अनलाइनमा केही नहुने तर प्रमुख स्वास्थ्य अधिकारीले खतरा हुनसक्ने बताउँछन् भने अधिकारीकै सल्लाह/ विचार मान्नुपर्छ।”

सूचनाको स्रोत र सूचना दिने व्यक्तिको नियमत सधैं जाँच्नुपर्ने न्यु साउथ वेल्स विश्वविद्यालयको संज्ञानात्मक मनोविज्ञानका प्राध्यापक बेन नेवेलले बताए। कुनै सूचना किन पठाइयो र त्यो सूचना अरूलाई पठाए के प्रभाव पर्ला भनेर विचार गर्नुपर्छ। सार्वजनिक स्वास्थ्य निकाय, विश्व स्वास्थ्य संगठन र विज्ञानका राष्ट्रिय प्राज्ञहरू सूचनाका भरपर्दा स्रोत हुन्। 

२.  प्रारम्भिक वैज्ञानिक निष्कर्षबारे सचेत हुनुहोस्

सामान्य परिस्थितिमा लामो अनुसन्धानपछि मात्रै विज्ञानका नयाँ निष्कर्ष सार्वजनिक हुन्छन्। यसमा वर्षौं लाग्नसक्छ। सार्स कोभ २ भाइरस जनवरीमा मात्रै परिभाषित भएको थियो। नजिकका प्रजातिले गरेको व्यवहारमा अनुमान गर्न सकिने भए पनि भाइरस र रोगबारे अझै पूर्ण जानकारी भएको छैन।

वैज्ञानिकहरूले एक आपसमा चाँडोभन्दा चाँडो सूचना बाँडिरहेको बाइफोर्डले बताइन्। “उपचार वा खोपको प्रगतिमा कुनै ढिलाइ नभएको सुनिश्चित गर्न यो महत्वपूर्ण छ। तर यसको अर्को पनि अर्थ छ- सर्वसाधारणसम्म पुग्ने थुप्रै सूचना विज्ञानको गुणस्तर मापदण्ड अनुसार हुँदैन।”

अन्य विशेषज्ञहरूले जाँच नगरि सार्वजनिक नगरिएको अनुसन्धानको निष्कर्ष अन्य विशेषज्ञको समिक्षापछि नाटकिय रूपमा परिवर्तन हुनसक्छ। बाइफोर्डले त्यस्ता सूचना शेयर गर्न नहुने बताइन्। त्यस्तो सूचना शेयर गर्न मन लागे, प्रारम्भिक कार्य भएको र स्वतन्त्र विशेषज्ञले मुल्याङ्कन नगरेको प्रष्ट्याउनुहोस्। यसको अर्थ केही दिन वा साताअघि सही मानिएको सूचना पुरानो भइसकेको हुनसक्छ।

३. तनावले निर्णय गर्ने क्षमता प्रभावित हुन्छ

हामी विश्वव्याधिको समयमा छौं। हामी सबै यसको मारमा छौं। हाम्रा “स्क्रिन” भयावह विषयवस्तुले भरिएका छन्। हामीलाई थप संज्ञानात्मक भार भएको नेवेलले बताए। यसले निर्णय गर्ने असंगत क्षमता निम्त्याउँछ। अर्थात् हामीले केही छिन सोंचेर निर्णयको आधारबारे विचार गर्नुपर्छ।

फ्लिन्डर्स विश्वविद्यालयको ओरामा इन्स्टिट्युट अफ मेन्टल हेल्थ,वेलबिइङ एन्ड न्युरोसाइन्सका निर्देशक माइक काइरियोसले प्रत्येक दिनको संकट सम्बन्धी अत्यधिक भावुक विषयवस्तुबाट टाढै रहनु महत्वपूर्ण भएको बताए। केही समय विश्राम लिए सन्त्रास कम गर्न र हतारमा निर्णय गर्नबाट रोक लाग्ने उनले बताए। मुख्य सूचना र सल्लाह केन्द्रित गर्ने एप वा वेबसाइटको विकासले पनि सहयोग पुग्नसक्छ।

“हामीले धेरै सकारात्मक सोंच देखेका छैनौं तर क्वारेन्टाइन भएको अवस्थामा सकारात्मक सोंच राख्नु महत्वपूर्ण छ। आन्तरिक स्रोतलाई भयमा खर्च गर्नुभन्दा सकारात्मक सोंच राख्नु आवश्यक छ। भय स्वाभाविक हो तर डरलाई स्वीकार गर्नु र त्योसँगै अघि आवश्यक छ। हामीलाई सामाजिक नभएर शारीरिक दूरी आवश्यक भएको छ,' उनले भने,“सामाजिक सञ्जाललाई साथीभाइसँग सम्पर्क कायम गर्न प्रयोग गर्नुपर्छ।”

४. केही गर्नुअघि परिणामबारे विचार गर्नुहोस्

आलोचनात्मक सोचविरूद्ध कहिले विवाद नगर्ने ग्रान्टले बताए। हात धुनु, व्यक्तिगत दूरी बढाउनु, अलग्गै बस्नु र बिरामी भए परीक्षण गर्नु महत्वपूर्ण भएको उनले बताए। सार्वजनिक स्थलमा खोक्ने वा खाँचोमा परेका बेला सुपरमार्केट बन्द गर्ने लगायतका विषयमा विचार गर्नुपर्ने नेवेलले बताए। 

धेरै फ्याक्टचेकिङ साइटहरूले पनि प्रभावकारी काम गरिरहेको बाइफोर्डले बताइन्। त्यसरी गरिएका दाबीबारे गुगल गर्नु र फ्याक्टचेक गरे धेरै प्रष्ट हुन सकिन्छ। सुरू गर्नलाई स्नोप्स राम्रो ठाउँ हो तर गुगलसँग पनि फ्याक्टचेक एक्सप्लोरर छ। केही निष्कर्ष सहसम्बन्धका आधारमा निर्क्यौल गरिएको हुनसक्ने उनले बताए। वैज्ञानिकले थप परीक्षण गर्दा त्यो असान्दर्भिक हुनसक्ने उनले बताइन्। यसबारे सर्वसाधारण सचेत हुनुपर्छ। थुप्रै अवस्थामा एकै समयमा दुई परिस्थिति परिवर्तन हुनसक्छ। तर दुवैमा कुनै वास्तविक सम्बन्ध नभएको हुनसक्छ।

५.  सूचना र अनुमान परिवर्तन हुनसक्छन्

सबै पद्धती अनिश्चिततासँगै आउँछन्। ती परिवर्तन हुनसक्ने गलत वा अपूर्ण अनुमान पनि हुनसक्छन्। प्राय: त्यस्ता पद्धती भविष्यको सही पूर्वानुमान गर्नलाई तयार गरिएका हुँदैनन्। कुनै निर्णय गरे के हुनसक्छ, त्यसलाई प्रस्तुत गर्न मात्रै ती पद्धती तयार गरिएका हुनसक्छन्।

“अनिश्चितताले तार्किक निष्कर्षको क्षमता हटाउँछ,” ग्रान्टले भने,“यो ठूलो मुद्दा हो। त्यसैले हाम्रो समाजशास्त्रीय व्यवहार संकटको अंग बनेका छन्। हामीमध्ये कसैले पनि व्यक्तिगत रूपमा यस्तो खतराको अनुभव गरेका छैनौं। यो कतिसम्म रहला हामीलाई थाहा छैन।”
 

 Published Date: Thursday, 26th March 08:29:16 AM