शुक्रबार, असार १९, २०७७

एक महिनामै एक हजारबाट १० हजार पुगे कोरोना संक्रमित

काठमाडौं, असार ११ : कोरोना संक्रमितको संख्या गत एक महिनामा तीव्र रुपमा बढेको छ। एक हजार संक्रमित पुग्न चार महिना लागेको थियो भने एक हजारबाट १० हजार पुग्न एक महिना मात्रै लागेकाे छ।

नेपालमा पहिलो कोरोना संक्रमित गत माघ ९ गते भेटिएको थियो। त्यसको चार महिनापछि मात्रै एक हजार कोरोना संक्रमित पुगेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, गत माघ ९ मा एक जना संक्रमित थिए भने जेठ १५ गते एक हजार ४२ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसयता भने दैनिक सयौंको संख्यामा संक्रमित थपिँदै गएका छन्।

एक हजारबाट दुई हजार पुग्न पाँच दिन लागेको थियो। जेठ २० गते दुई हजार ९९ संक्रमित पुगेका थिए।

त्यसको चार दिनमै तीन हजार पार गरेका थिए भने चार हजार पार गर्न त्यसपछि दुई दिनमात्रै लाग्यो। त्यसको दुई दिनमा पाँच हजार नाघे भने तीन दिनपछि असार १ गते ६ हजार दुई सय ११ पुगेका थिए।

त्यसको दुई दिनमा सात हजार पारे गरेका थिए भने दुई दिनमा असार ५ गते आठ हजार संक्रमित पुगेका थिए। त्यसपछि दुई दुई दिनमा हजारले संख्या पार गर्दै असार ९ गते १० हजार ९९ संक्रमित पुगेका हुन्।

बिहीबार बिहानसम्म संक्रमितको संख्या १० हजार सात सय २८ पुगेको छ। जसमध्ये २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म दुई हजार तीन सय ३८ जना निको भएर घर फर्केका छन्।

आज पोखरास्थित प्रादेशिक अस्पतालमा गरिएको परीक्षण थप एक सय एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 Published Date: Thursday, 25th June 14:10:22 PM